क्रिस्टोफ स्ट्राक
अंग्रेजीमा एउटा शब्दावली छ- ‘लेम-डक’ । पदमा पुगेर पनि आफ्नै अक्षमता तथा अर्कमण्यताका कारण अर्को कार्यकालका लागि चुनाव लड्ने अवस्थामा नरहेका राजनीतिज्ञका लागि यो शब्दावली प्रयोग गरिन्छ। आफ्नो राजनीतिक अक्षमताका कारण उनीहरू अचानक कमजोर र शक्तिहीन बन्न पुग्छन्।
राजनीतिक विश्लेषकहरूले विगतका केही वर्षमा जर्मनीकी चान्सलर एन्जेला मर्केललाई पटकपटक ‘लेम-डक’को उपमा भिराए। २०१७ को चुनावमा उनको क्रिश्चियन डेमोक्रेटिक पार्टीले कमजोर प्रदर्शन गर्दा होस् वा पार्टीको प्रमुख नेताबाट २०१८ मा राजीनामा गर्दा, अथवा उनका पूर्वप्रत्यासी फ्रेडरिख मर्जले पार्टीको नेतृत्व लिन पटकपटक प्रयास गर्दा— मर्केलको राजनीतिक तेज सकिएको विश्लेषण भएको थियो।
आजभन्दा दुई वर्षअघि उनकै समर्थक सांसदहरू पनि मर्केलले २०१९ भित्रै राजीनामा गर्ने आंकलन गरिरहेका थिए। तैपनि उनी अझै पदमा छिन्, अलि चिन्ताग्रस्त तर विश्वसनीय र साधारण ।
अहिले जर्मनीमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नै मर्केलका सहज दिन सुरू भएका छन्। यस्तो घमाइलो समय उनको राजनीतिक जीवनमा देखा नपरेको थुप्रै वर्ष भइसकेको थियो। ‘मिडियाले मर्केललाई संसारकै दृढ नेताका रूपमा हेरिरहेका छन्,’ केन सहरबाट इजरायल पब्लिक टिभीका कुटनीतिक संवाददाता एमिचाइ स्टेन भन्छन्, ‘आफ्ना जनतालाई वर्तमान परिस्थितिबारे जनताले बुझ्ने गरी व्याख्या गर्न सक्ने र बुझाउन सक्ने नेताका रूपमा उनले संसारको ध्यान खिचेकी छिन्।’
स्टेनको मात्रै होइन, अहिले संसारभरिका पत्रिकाका विचारपृष्ठ, राजनीतिक मूल्यांकनकर्ता र सामाजिक सञ्जालका पोस्टहरूमा हामी यही धारणा पाउँछौ। न्युजिल्यान्डको न्युजिल्याण्ड हेराल्ड पत्रिकाले त गत मार्चमा ‘जर्मनकी चान्सलर संकटको बीचमा पनि चन्द्रमा झैं चम्किइन्’ भन्ने शीर्षकमा एक लेख नै प्रकाशित गरेको थियो।
यस्तै, यही हप्ता अर्जेन्टिनामा सबैभन्दा बढी पढिने क्लारिन पत्रिकाले उनको प्रशंसामा लेखेका शब्दहरू त वेदका ऋचा झैं भएका छन्। टिप्पणीकार रिचार्ड रोअले लेखेका छन्, ‘६५ वर्षिया भौतिकशास्त्रकी पिएडी तथा लुथरन पास्टर र ल्याटिन शिक्षककी छोरी,’ जो १५ वर्षदेखि अनवरत रूपमा जर्मनीको शीर्षस्थानमा रहेपनि व्यहार ‘साधारण मानिसकै जस्तो’ छ।
कोरोना भाइरसको वर्तमान संकटबीच आफूलाई सुरक्षित मात्रै नराखेर ‘कुशलतापूर्वक नेतृत्व’ गर्ने संसारका ‘थोरै नेताहरूमध्ये’ मर्केल एक हुन्। रोअ लेख्छन्, ‘उनी वैज्ञानीकहरूसँग उत्साहका साथ कुरा गर्छिन् । उनी शान्त भएर कुरा गर्छिन्। उनी हिस्टेरियालाई परास्त गर्छिन्।’
उनले स्पेनी भाषामा ‘मर्केलिना’ भन्ने नयाँ शब्द नै बनाइदिए। यो शब्दले ‘संकटबाट राजनीतिक लाभ उठाउन नखोजेर समस्या समाधान गर्न प्रयास गर्ने’ राजनीतिक चरित्र, संयम र संकल्पयुक्त व्यक्तित्व बुझाउन उनले यो शब्द प्रयोग गरेका छन्।
जर्मनीमा १५ वर्षदेखि जर्मनीको नतृत्व गरिरहेकी मर्केलको यो प्रशंसा उनको राजनीतिक संघर्षभन्दा पनि संकटको नेतृत्वमा केन्द्रित छ। तर, उनको यस्तो प्रशंसाले अहिले संकट पार लगाउने कुशल नेतृत्वको विश्वमा अभाव रहेको तथ्य पनि उजागर गरेको छ।
अमेरिकामा पनि मानिसहरू यस्तै भनिरहेका छन् । न्युयोर्क टाइम्स, द एटलान्टिक र फोर्ब्सजस्ता पत्रिकाका पछिल्ला अंकहरू पढ्नुभएको छ भने त्यहाँ ट्रम्पको आलोचना र मर्केलको प्रशंसा उत्तिकै पाउनुहुनेछ। ‘पछिल्लो केही हप्तामा जर्मनीकी चान्सलरले आफ्नो विवेकशील चरित्र र संवेदनशीलतालाई सँगसँगै प्रयोग गरिरहेकी छिन् र उनले कोरोना भाइरसविरूद्ध तुलनात्मक रूपमा सफल लडाईं लडेकी छिन्,’ द एटलान्टिकले लेखेको छ।
मर्केलको प्रशंसा लन्डनमा पनि उस्तै छ। हरेक पत्राकार सम्मेलनमा सञ्चारकर्मीहरूले सरकारी अधिकारीलाई किन जर्मनीको मोडल लागु नगरेको भनेर सोध्ने गरेको त्यहाँका एकजना रिपोर्टरले याद गरेका छन् ।
जर्मनीमा भएका पछिल्लो सर्भेक्षणले २०१७ यता सबैभन्दा धेरै जनता मर्केलको पक्षमा रहेको देखाएका छन्। विश्वव्याधीसँग लड्न सफल भएकाले नै उनलाई जनताको यो समर्थन मिलेको हो। जर्मनीका टिभी स्क्रिनमा यतिबेला कुशल संकट व्यवस्थापकको रूपमा उनको बलियो उपस्थिति देखिन थालेको छ।

dw.com
प्रशंसाको विश्वव्यापी लहरको कारण के हो त? क्रिश्चियन डेमोक्र्याटिक युनियन, बुन्डेस्टागका सदस्य तथा युरोपेली परिषदको प्रतिनिधि सभा, स्ट्रासबर्गका उपाध्यक्ष एन्ड्रेस निक भन्छन्, ‘अन्तर्राष्ट्रिय पर्येवेक्षक तथा अन्य मुलुकका सांसद साथीहरू मर्केलको निर्णयकर्ताका रूपमा विशेष गुण र नेतृत्वशैलीबारे थप स्पष्ट भएका छन्,’ र जर्मनीमा पनि धेरैले यो कुरा महशुस गरेका छन् ।
निक भन्छन्, ‘मर्केलको शैली एकदमै व्यवहारिक र परिणाममुखी छ। उनी सुक्ष्म विश्लेषण गर्छिन् र ध्यान दिएर मूल्यांकन गर्छिन्। संयमित छिन् र आफूलाई साधारण रूपमा प्रस्तुत गर्न जान्दछिन्।’
उनले थपे, उनी तालिमप्राप्त वैज्ञानिक हुन्, जोसँग आफ्नो आदर्शवादी व्यवस्थाको पतन देखेको अनुभव छ।
निक क्रिश्चियन डेमोक्रेटिकका सदस्य हुन्, अर्थात मर्केलका प्रतिनिधि। उनले यस्तो भन्नु स्वभाविक हो । तर, मर्केलको प्रशंसा अन्य पार्टीमा आबद्धले पनि उसैगरी गर्छन्। समाजवादी लेफ्ट पार्टीका महत्वपूर्ण नेता बोडो रामेलोले पछिल्लो केही साता पटक पटक मर्केलसँग संवाद गरेका थिए। मर्केलको काम गर्ने शैलीबारे उनले डीडब्ल्युसँग भने, ‘एकदमै संयमित र लक्ष्य केन्द्रित, खासगरी भिडियो तथा टेलिफोन कन्फ्रेन्समा उनको यो गुण थाहा हुन्थ्यो।’ उनका अनुसार मर्केलको यो गुणले जटिल छलफललाई पनि संयमित बनाइराख्थ्यो।
प्रदेशहरूले लकडाउनलाई खुकुलो गर्दै लगेकोमा मर्केलले आलोचना गरेकी थिइन्। ‘यसलाई मैले गम्भीरतापूर्वक लिएको छु। यतिबेला हामीले मिलेर काम गर्नु आवश्यक छ,’ थुरिङ्गिया राज्यका प्रिमियरसमेत रहेका रामेलोले भने । अहिलेको राजनीति खतरालाई निस्तेज पार्न र स्थायी समाधान पत्ता लगाउन केन्द्रित हुनुपर्ने उनको धारणा छ।
उनका लागि संकटको यस्तो बेलामा ‘लोकप्रीयतावादी र खतराका सूचकलाई बेवास्ता गर्ने आडम्बरी पुरूषसँग’ काम गर्नुभन्दा एकजना ‘शान्त वैज्ञानिक’ महिलासँग काम गर्नु उपयुक्त छ।
कोरोनाको संकटभरी मर्केल कहिल्यै पनि मास्क लगाएर सार्वजनिक रूपमा देखा परिनन्। तर, एक वैज्ञानिक व्यक्तित्व अहिले जसरी कहिल्यै पनि प्रकट भएको थिएन। जसरी उनले प्रमाण र तर्कका आधारमा खतराको आंकलन गर्ने गरेकी छन् र संयमित भएर विश्लेषण गरेर आगाडि बढ्ने गरेकी छिन्, यो वैज्ञानिकमा हुने गुण हो। उनको यो गुणले कहिलेकाँही जर्मनहरू परेशान पनि हुने गरेका थिए।
यदि कोरोना नफैलिएको भए यो शनिबार मर्केलको क्रिश्चियन डेमोक्रेटिकमा शनिबार नयाँ नेता चयन हुने थियो। उनकी उत्तराधिकारी एन्नेग्रट क्राम्प-कर्रेनबुरले नेतृत्व त्याग गरिसकेकी छिन्। साथै, राजनीतिक टिप्पणीकारहरू मर्केल चान्सलरबाट बाहिरिने दिनगन्ती गरेर बसिरहेका हुने थिए।
अब सम्भवत डिसेम्बरसम्म पार्टीको नयाँ नेतृत्व चयन हुने छैन। यसअघि जुन १ बाट उनले युरोपेली युनियनको अध्यक्षको पद पनि सम्हाल्नेछिन्, जुन उनका लागि अझै चुनौतिपूर्ण छ।
एकवर्षअघिसम्म जर्मनीले युरोपेली युनियनको अध्यक्ष पद पाउनुअघि नै मर्केललाई चान्सलरबाट विस्थापन गर्नुपर्ने सोच्थे। अहिले परिस्थिति बदलिएको छ। मर्केलले यो जिम्मेवारी निभाउने कुरामा कसैको पनि असहमति छैन।
कोरोनाविरूद्धको लडाईंमा मर्केलको सफलताले ल्याएको उत्साहसँगै धेरैले उनीपछिको नेतृत्वबारे पनि सोचिरहेका छन्। बेलायतको सन्डे टाइम्सको पछिल्लो अंकमा प्रकाशित कोरोनाविरूद्ध लडिरहेको जर्मनीको स्टोरी प्रकाशित छ। यो पुरै मर्केलको स्टोरीले भरिएको छ। बेभरियन स्टेटका प्रिमियरसँगै मर्केल उभिएको फोटोसहित प्रकाशित यो स्टोरीको शीर्षक छ, ‘ ‘कोरोना कैसर’ले एन्जेला मर्केलको सफलतालाई अघि बढायो।’ कैसरले जर्मनीमा सम्राट वा त्यस्तो उपाधिलाई बुझाउँछ।
इजरायलको तेलअभिवका अमिचाइ स्टेन पनि मर्केलपछिको नेतृत्वबारे सोचिरहेका छन्। मर्केलले संसारलाई दिएको उपहार र वर्तमान विश्वमा बनेको उनको छविबारे स्टेन भन्छन्, ‘संसारले उनलाई यति ध्यानपूर्वक हेर्नुको अर्को कारण उनीपछि नेतृत्वमा को आउँछ भन्ने प्रष्ट नभएकाले पनि हो।’
यो प्रश्न अझै केही समय अनुत्तरित रहनेछ।
(डिडब्लुमा प्रकाशित यो आलेख रोहेज खतिवडाले अनुवाद गरेका हुन्)
Leave a Reply