पर्खनु
सिंगो पहाड बोकेर पहाड चढ्नु हो
पहाडी नदीको वेग थामेर निस्वास उभिनु हो
आकाशका तारा नझुक्किएर गनिरहनु हो
पर्खनु
चलिरहने पाइला विरूद्ध उभिइरहनु हो
कुदिरहने समयलाई थपक्कै समातेर राख्न खोज्नु हो
घडीको सुइले थाहा नपाउने माइक्रो-माइक्रो सेकण्ड गनिरहनु हो
पर्खनु
कुनै काम होइन
तर पनि सबैभन्दा कठीन काम हो
सुर्यले कहिल्यै पर्खँदैन उदाउन र अस्ताउन
आँधीले कहिल्यै पर्खिँदैन परसम्म दौडिन
भुँइचालोले कहिल्यै पर्खिँदैन इमारत भत्काउन
पर्खनु
प्रकृतिको नियम विरुद्ध उभिनु हो
जब मृगहरू पर्खिन थाल्छन्, बाघ पर्खँदैन
जब शीतहरू पर्खन थाल्छन्, घाम पर्खदैँन
जब पातहरू पर्खन थाल्छन्, ऋतु पर्खँदैन
पर्खिनु
आफ्नै अस्तित्वविरुद्ध उभिनु हो
तर पनि
तिमी आउने दोबाटोमै
म वर भएर उभिरहेको छु अझै
कसैले चौतारो त बनाउला!
Leave a Reply