गाईको निबन्ध
२५ भदौदेखि १२ असोजसम्म सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार सुवास तामाङको एकल चित्रकला प्रदर्शनी चलिरहेको थियो । ढोकाको छेवैमा उनले ‘एसेज अन काउ’ शीर्षकमा चार पेन्टिङ राखेका थिए । ठीक यसैबेला गौहत्याको मुद्दा समाचारमा छाइरहेको थियो ।
गाई मारेर खाएको अरोपमा ४ असोजमा प्रहरीले मकवानपुरको बकैया-११, कालीदमारबाट १० जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नौजना तामाङ र एक दलित थिए । भोलिपल्ट, ५ गते राति काठमाडौंको बालाजु प्रहरी टोलीले गाईको बाच्छो मारेर खाएको आरोपमा रसुवाका चार जनालाई पक्राउ गर्यो । यहाँ पनि पक्राउ पर्ने सबै तामाङ थिए ।
यसपछि मुक्तान थेवालगायतका अभियन्ताहरू गोवध प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेर सडकमा ओर्लिए । संविधानमा धर्म निरपेक्षता साथै सबैले बिना व्यवधान आफ्नो संस्कृति मान्न पाउने उल्लेख छ । गोमांस आफ्नो संस्कृतिको अभिन्न हिस्सा भएकाले गोवध बर्जित गर्न नपाइने उनीहरूको माग छ । यसले आफ्नो सांस्कृतिक स्वतन्त्रता कुण्ठित गरेको तर्क गर्दै संविधानको मर्मअनुसार आफ्नो संस्कृति मान्न पाउनुपर्ने माग उनीहरूले गरेका हुन् ।

नेपालका अधिकांश जनजाति समुदाय र दलित समुदायमा गाईको मासु खाने प्रचलन छ । उनीहरूका सांस्कृतिक प्रचलनमा पनि गोमांस जोडिएको छ । तर, इतिहासका विभिन्न कालखण्डमा राज्यले गोवध र गोमांसको प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास गर्दै आएको छ, जसलाई उनीहरू सांस्कृतिक अतिक्रमणका रूपमा अर्थ्याउँछन् । गाईपूजक हिन्दु सत्ताले परम्परादेखि चलिआएको आफ्नो रीतिथिति र खाद्यव्यवहारमा अतिक्रमण गरेको भन्दै उनीहरूले प्रतिरोध गर्दै आएका छन् । गोवध प्रतिबन्धको आदेश वा कानुनको अवज्ञा अहिलेसम्म चलेको निरन्तरको प्रतिरोध हो । यसबाहेक विभिन्न साङ्केतिक प्रतिरोध पनि समयसमयमा भइरहेको छ । कविता र कथालगायतका साहित्यिक लेखन, नाटक र चित्रकलामा पनि यस्तो प्रतिरोध पाइन्छ ।
कवि भूपाल राईको कविता ‘राष्ट्रिय जनावरको देशमा’ यसको एउटा राम्रो उदाहरण हो । उनको कविताले भन्छ:
सूचीकृत छु
राष्ट्रिय जनगणनाको एक आँकडा
एक अराष्ट्रिय मान्छे
अराष्ट्रिय बाजेको नाति
अराष्ट्रिय बाबुको छोरा
डामेर निधारभरि तीनपुस्ते अराष्ट्रियता
खेपिरहेछु
राष्ट्रिय जनावरको एक अराष्ट्रिय मुद्दा ।
सुवासको पेन्टिङ ‘एसेज अन काउ’ पनि प्रतिरोधको एक स्वरूप हो । यसमा एउटा पेन्टिङ छ: रातो पृष्ठभूमिमा एउटा तामाङ अनुहार छ । उसको टाउकाको माथिल्लो भागमा भने एउटा गाई र नेपाली अक्षरहरू छन् । यो पेन्टिङसँगै १९१० सालमा जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनसहित विभिन्न कानुनमा भएका गौहत्यासँग सम्बन्धित प्रावधानहरू छन् । यसको साथमा उनले मुक्तान थेवाको कविता ‘गाई, गोरु, बहर, बाछा, बाछी’ पनि राखेका छन् ।
प्रदर्शनी सकिएपछिको एक साँझ सुवासलाई सोधेको थिएँ, ‘पेन्टिङमा कानुनका धारा र कविताचाहिँ किन राख्नु भएको ?’
‘मुक्तान थेवाको कविता पेन्टिङबाट मैले जे भन्न खोजेको हो, त्यही भाव भएकाले राखेको हुँ,’ अमेरिकानोको चुस्की लिँदै उनले भनेका थिए, ‘मुलुकी ऐनमा भएको कुराचाहिँ राज्यको कानुनले नै कसरी विभेदकारी व्यवहार गर्यो भन्ने देखाउन राखेको हुँ ।’
१९१० सालमा जंगबहादुरले जारी गरेको मुलुकी ऐन नेपालका रैथाने जनजातिमाथि गोवध प्रतिबन्ध लगाउने कानुनको एउटा उदाहरण हो । २०६२-६३ को जनआन्दोलनको जगमा बनेको नयाँ संविधानमा देश धर्म निरपेक्ष राष्ट्र भए पनि गोवध प्रतिबन्ध भने कायमै छ । पटक-पटक मृत्युदण्डसहितका कडा सजाय राखेर राज्यले गोवध प्रतिबन्ध गर्न खोजे पनि आजसम्म यो पूर्णनिषेध हुन सकेको छैन । कानुनमा राखिएका विभिन्न छिद्र र गोवधका नाममा पटकपटक भएको गिरफ्तारी र सजायले गोवध नरोकिएको प्रस्ट पार्छ ।
सुवास आफू सानो हुँदा ‘स्कुलमा उनलाई गाई हाम्री माता हुन्, तिहारमा गाईको पूजा गरिन्छ’ भनेर पढाइन्थ्यो । यता आफ्नो समुदायमा यसलाई खान मिल्ने मासुको रूपमा लिएको देख्थे । कतिपय सांस्कृतिक कर्मकाण्डमा गोमांस चढाउने पनि प्रचलन छ । तामाङहरूले गाई पूजा गरेको उनले देखेनन् । यसले उनलाई द्विविधामा पार्यो ।
स्कुल सकेपछि उनी कलेज पढ्न काठमाडौं आए । इतिहास र संस्कृतिका विविध आयामहरू बुझ्न थाले । आफ्नो संस्कृति र स्कुलले आफूलाई सिकाइरहेको संस्कृतिबीच फरक-फरक रहेछ भन्ने बुझे । यो पेन्टिङमा उनले स्कुलले गाईबारे आफ्नो दिमागमा कस्तो धारणा निर्माण गर्न खोज्यो भन्ने उतारेका छन् । बाल्यकालदेखि आफ्नो मथिङ्गलमा खेलेको कुरा र पछि बुझेको कुरालाई लिएर सन् २०१७ मा यो पेन्टिङ बनाएका थिए ।
सुवासले आफ्नो समुदायमा देखेको कुरा र स्कुलमा पढेको कुरा विरोधाभाषी कसरी भयो ?
यो प्रश्नको सजिलो जवाफ फरक संस्कृतिका शासकहरूले आफ्नो संस्कृति लागू गराउने प्रयत्न गरे भन्ने हुन सक्छ । तर, गाईलाई नै शासकीय संस्कृतिको प्रतीक कसरी र किन बन्यो भन्ने प्रश्नको जवाफ जटिल हुन्छ । यसका लागि इतिहासको लामो कालखण्ड हेर्नुपर्ने हुन्छ ।
गाईलाई गौमाता र पवित्र जनावरका रूपमा स्थापित गर्ने नेपालका हिन्दु शासकहरूले लामो समयदेखि प्रयास गरेका थिए । यो इतिहास पृथ्वीनारायण शाहभन्दा धेरै पुरानो हुन आउँछ । तर, पृथ्वीनारायण शाहको गोर्खा साम्राज्य विस्तार अभियानपछि भने सिङ्गो नेपालको भूगोलमा गोवध प्रतिबन्धको प्रयास भयो, जुन अहिले पनि जारी छ ।

खासगरी तामाङ र किराँतीहरूका लागि गोवध प्रतिबन्ध निकट इतिहासको कुरा हो । त्यसैकारण हुन सक्छ, यी दुई समुदायमा प्रतिरोध पनि अझै शक्तिशाली छ भने गोमांसको प्रयोगले पनि अझै निरन्तरता पाइरहेको छ । पश्चिमका जनजातिहरूमा गोवध प्रतिबन्ध निकै पुरानो भएको अनुमान गर्न सकिन्छ । तैपनि नेपालका ३५ प्रतिशतभन्दा धेरै जनसंख्या भएका जनजातिहरू (नेवारबाहेक) र १३ प्रतिशतभन्दा धेरै रहेका दलितहरू अधिकांश गोमांस खाने परम्पराबाट आएका छन् भन्ने प्रस्ट छ । अर्थात्, गोमांस खाने परम्पराबाट आएकाहरूको संख्या नेपालको कुल जनसंख्याको झण्डै आधाजति छ ।
यति हुँदाहुँदै नेपालका केही भूगोलमा गोवध र गोमांसमा मध्यकालदेखि नै प्रतिबन्ध छ भने काठमाडौं उपत्यका पूर्व लगभग दुई सय वर्षदेखि प्रतिबन्धको प्रयत्न जारी छ ।
नेपालमा गोवध प्रतिबन्धको सुरुवात भने गंगा मैदानमा विकसित भएको वैदिक धर्मको प्रभावमा भएको देखिन्छ । त्यसैले, वैदिक सभ्यतामा गोवध कसरी प्रतिबन्धित भयो भन्ने प्रश्न चाखलाग्दो छ । इतिहासकार डीएन झाले यो प्रश्नको जवाफ खोजेका छन् ।
०००
‘मिथ अफ द होली काउ’: गाईपूजन सुरुवातको कहानी
भारतको दिल्ली विश्वविद्यालका इतिहास विभागका प्रमुख थिए प्राध्यापक डीएन झा (जसको यसै वर्ष फेब्रुअरीमा निधन भयो), लाई भारतको प्राचीन र मध्यकालीन इतिहासका विशेषज्ञ मानिन्छ । उनले प्राचीनकालमा वैदिक हिन्दुको गोमांससँगको सम्बन्ध खोतलेर ‘द मिथ अफ द होली काउ’ नामक पुस्तक लेखेका छन् ।
झाले यो किताब दुई दशकअघि तयार पारेका थिए । उनको प्राज्ञिक छवि हुँदाहुँदै पनि दिल्लीका थुप्रै प्रकाशकले यो पुस्तक छाप्न अस्वीकार गरे । अन्तत: एउटा सामान्य प्रकाशन गृह ‘म्याट्रिक्स बुक्स’ पुस्तक छाप्न तयार भयो । र, सन् २००१ मा यसको पहिलो संस्करण बजारमा आयो ।

पुस्तकले भारतमा नसोचेको तरङ्ग पैदा गर्यो । विश्व हिन्दु परिषद्ले यो पुस्तक ‘घोर इशनिन्दा’ भएको निष्कर्ष निकाल्यो । अन्य हिन्दु अतिवादी संगठनहरूले उनकै घरअघि यो पुस्तक जलाए । लेखक झाको ‘फतवा’ आह्वान गरे । उनले अपरिचित फोनकलबाट ज्यान मार्ने धम्की पाए । १० महिनासम्म झा प्रहरीको सुरक्षामा क्याम्पस परिसरभित्रै बसिरहे । इलाहावाद हाइ कोर्टले उनको पुस्तकमाथि प्रतिबन्ध लगायो ।
यसलगत्तै बेलायत र अमेरिकामा भर्सो बुक्सबाट यो किताब प्रकाशित भयो । भारतमा नवयान प्रकाशनले भारतीय संस्करण प्रकाशन गर्यो । प्रकाशनको दुई दशक बित्दा पनि यो किताब अझै उत्तिकै चर्चामा छ । बीबीसी हिन्दीका अनुसार सन् २०१७ सम्ममा यो किताबको २६ संस्करण प्रकाशन भइसकेको छ ।
यति धेरै विरोधाभाष निम्त्याउने विषय के थियो त यो किताबमा ? द स्क्रोलमा सत्यव्रत केके लेख्छन्, ‘झाकोमिथअफदहोलीकाउमाकतै पनि उत्तेजना फैलाउने नियत देखिँदैन । यो भारतीय उपमहाद्वीपमा गोमांस खाने परम्परामाथिको प्राज्ञिक सोध मात्रै थियो, जसलाई उनले विभिन्न प्राचीन ग्रन्थ र स्रोतले भरेका छन् ।’
झाले एउटा साधारण तथ्यलाई प्रशस्त उदाहरणका साथ प्रस्तुत गरेका छन्, प्राचीनकालमा आजका वैदिक आर्यहरू गोमांस खान्थे । हिन्दु अतिवाद बढिरहेको २१औँ शताब्दीको सुरुवातमा यो साधारण तथ्य नै यस्ता प्रतिक्रिया निम्त्याउन पर्याप्त भयो ।
झाको पुस्तक इन्डो-युरोपियन बसाइसराइको सिद्धान्तअनुसार वैदिक हिन्दुका पूर्खा पूर्वी युरोप र मध्य एसियाको घाँसे मैदानबाट दक्षिण एसिया सरेको प्रसंगबाट सुरु हुन्छ । उनीहरू बसाइँ सर्दैसर्दै आजभन्दा चार हजार वर्ष पहिलेदेखि दक्षिण एसिया प्रवेश गर्न थालेका थिए (झाले इशा पूर्वको दोस्रो सहस्राब्दीको मध्य अर्थात् आजभन्दा ३५०० वर्षअघिबाट भनेका छन्, पछिल्लो समय भएका केही डीएनए परीक्षणले त्यसभन्दा लगभग पाँच सय वर्ष अघितिरै इन्डोयुरोपियनहरू दक्षिण एसिया प्रवेश गर्न सुरु गरेको हुनसक्ने संकेत गरेका छन्) । संस्कृत साहित्यमा भेटिएका प्रमाण, पुरा तत्त्वका प्रमाण र पछिल्लो समय विकसित डीएनए परीक्षणको प्रमाणले पनि यो सिद्धान्तको सत्यतालाई पुष्टि गरेका छन् । नेपालमा धेरैले रूचाएको भारतीय लेखक राहुल सांकृत्यायनको पुस्तक ‘भोल्गा से गंगा’ यही बसाइसराइको आधारमा राखिएको नाम हो ।
आजभन्दा ६ हजार वर्षअघि पूर्वी युरोप र मध्य एसियाआसपासको क्षेत्रमा उनीहरू हजारौँ गाई पालेर बसेका थिए । कालान्तरमा उनीहरू कोही युरोपतिर त कोही पश्चिम एसियातिर बसाइँ सर्न थाले । इरानको छेउछाउ आइपुगेपछि उनीहरूको एउटा झुण्ड इरानतिर पस्यो र अवेस्ता रचना गर्यो । उनीहरूले पर्सियाली धर्म तथा भाषा विकास गरे । अवेस्ताको प्रारम्भिक खण्डहरूको रचनाकाल ऋग्वेदको समयसँग मिल्दो मानिन्छ भने यी दुई ग्रन्थमा थुप्रै भाषिक समानता पनि भेटिन्छ ।
यही समूहको अर्को एक झुण्ड दक्षिण एसिया छिर्यो । हजार वर्षमा उनीहरू गाई चराउँदै-चराउँदै अफगानिस्तान र पाकिस्तानको भूमि हुँदै गंगा नदीको विशाल मैदानमा आइपुगे । उनीहरूले वेद तथा उपनिषदहरू रचना गरे । संस्कृत भाषा तथा हिन्दु, बौद्ध तथा जैन धर्मको विकास गरे । र, गंगा नदीको सभ्यता निर्माणमा अग्रणी भूमिका निर्वाह गरे । ऋग्वेदले वैदिक आर्यहरू अफगानिस्तानबाट गंगा मैदानसम्म आइपुग्दाको समयको कथा भन्छ ।
बसाइसराइका प्रारम्भिक दिनमा उनीहरूले व्यवस्थित खेती सुरु गरेका थिएनन् । त्यसैले, उनीहरूको मुख्य खाना गाईजन्य परिकार नै थियो । दूध, दही, नौनी र गोमांस उनीहरूका नियमित भोजन थिए ।
झाका अनुसार ऋग्वेदमा ‘गौ’ शब्द मात्रै १७६ पटक प्रयोग भएको छ भने गाई बुझाउने अन्य विभिन्न शब्द ७०० भन्दा धेरै प्रयोग भएका छन् । यसबेला धेरै गाई हुनेलाई धनी मानिन्थ्यो, जसलाई ‘गोमत’ भनिन्थ्यो । कविला प्रमुखलाई भने ‘गोप’ वा ‘गोपति’ भनिएको छ । पुस्तकमा यस्ता अरू पनि उदाहरणहरू छन्, जसले वैदिक आर्यका पुर्खा ऋग्वेदकालसम्मै गाई पालनमा निर्भर थिए भन्ने पुष्टि गर्छन् ।
भाषाशास्त्रीय र पुरातात्त्विक प्रमाणलाई आधार बनाउँदै झा दाबी गर्छन्- पूर्वी युरोप र मध्य एसियाको घाँसे मैदानतिर हुँदैदेखि इन्डो-युरोपियन संस्कृतिमा गाईसहित अन्य पशुको बलि दिने प्रचलन थियो र वैदिक आर्यका पुर्खाहरू दक्षिण एसिया आइपुग्दा वा ऋग्वेदको रचनाकालसम्मै यो कायम रहेको प्रमाण पाइन्छ ।
ऋग्वेदमा ब्रह्मा, विष्णु वा महेश्वरजस्ता सर्वशक्तिमान ईश्वरको चर्चा छैन । यसमा रहेका सबैभन्दा प्रमुख देवता इन्द्र हुन् भने अग्नि, सोम, वरुण आदि महत्त्वपूर्ण देवता हुन् । ‘यी सबै देवता गोमांसका पारखी देखिन्छन्,’ झा लेख्छन् । खासगरी यज्ञहरूमा उनीहरूले गोमांसको परिकारको चाहना राखेको उल्लेख छ । गोमेध, अश्वमेध आदि यज्ञ त्यस समयका नियमित कर्मकाण्ड थिए ।
ऋग्वेदकै एक सुक्तबाट झाले उदाहरण दिएका छन्, जहाँ इन्द्र भन्छन्, ‘उनीहरूले मेरा निम्ति १५ र २० (३५) गोरू पकाएका छन् ।’ इन्द्र प्राय:जसो वृषभको मासु मन पराउने देवताका रुपमा प्रस्तुत हुन्छन् । गोपथ ब्राह्मणका अनुसार इन्द्रका लागि वृषभ, आँधीका देवता मरूत्सका लागि पाटे गाई र अश्विनका लागि तामा रङको गाईको बलि दिनुपर्छ । पुस्तकमा झाले यस्ता उदाहरणहरूको लामो फेहरिस्त प्रस्तुत गरेका छन्, जसले वैदिककालका देवताहरू गोमांस रुचाउँथे भन्ने कुरा प्रस्ट पार्छ । र, यज्ञमा बलि दिइने सबै मासु खान योग्य हुने तथा खान योग्य नभएमा बलि दिन नमिल्ने व्यवस्था त्यसबेला थियो । अर्थात्, गाई बलि दिनुको अर्थ खानका लागि पनि प्रयोग हुन्थ्यो भन्ने हो ।
झा देवताहरूको उदाहरणमा रोकिँदैनन् र मानिसहरूका लागि पनि गोमांस खाद्य परिकार थियो भन्ने उदाहरण प्रस्तुत गर्छन् । ऋग्वेद र त्यसपछिका ग्रन्थहरूमा अतिथि सत्कारका लागि गोमांस उपयुक्त परिकारका रूपमा सिफारिस मात्रै नभएर कतिपय स्थानमा बाध्यकारीसमेत बनाइएको छ । खास पाहुनाका लागि बाच्छाको मासु अनिवार्य गरिएको छ । झा दाबी गर्छन्, ‘यसैकारण पाणिनीले पाहुनालाई गोघ्न नाम दिएका हुन् । पाहुना आएमा गोमांस बनाउनुपर्ने परम्पराबाट नै यो शब्द निर्माण भएको देखिन्छ ।’ किताबमा झाले ऋषि-महर्षिहरूले समेत गोमांस सेवन गर्ने गरेको उदाहरण दिएका छन् ।
आर्थिक इतिहासमा धेरै चासो राख्ने झा वैदिक आर्यहरू पशुपालकबाट कृषिमा लागेका कारण यो परिवर्तन आएको तर्क गर्छन् । पशुपालक हुँदा उनीहरूसँग प्रशस्त पशु हुन्थ्यो, मासुका लागि जति पनि प्रयोग गर्न सकिन्थ्यो । तर, खेती गर्न थालेर निश्चित स्थानमा बसोबास गर्न थालेपछि पशुको संख्या घट्यो तर खेतीका लागि समेत पशु उपयोगी हुने भएकाले महत्त्व घटेन । त्यसैले नै हुन सक्छ, गंगा मैदानको सभ्यता समुन्नत हुँदै जाँदा गोमांसमा प्रतिबन्धको प्रयास पनि सुरु भएको देखिन्छ ।
‘इन्डियाज स्याक्रेड काउ’ शीर्षकको आफ्नो अनुसन्धानमूलक लेखमा मार्विन ह्यारिस लेख्छन्, ‘धार्मिक कानुनका किताबमा गोवध प्रतिबन्ध कृषि-प्रणालीलाई सुक्खाको हिउँद र समयसमयमा पर्ने खडेरीबाट बचाउन गरिएको थियो ।’
यति बेलासम्ममा वैदिक आर्यहरूमाझ जात व्यवस्था (वर्ण व्यवस्थाका रूपमा) स्थापित भइसकेको थियो । अनि सामाजिक रीतिहरू पनि जातका आधारमा बन्न थालिसकेका थिए । त्यसैले गोमांस प्रतिबन्धको सुरुवाती चरणमा ब्राह्मणको गाई हत्या गर्न प्रतिबन्ध लगाइएको थियो । झाले यसका केही उदाहण अथर्ववेदबाट लिएका छन् ।

वेदभन्दा फरक आर्थिक-सामाजिक परिस्थितिमा रचना भएका उपनिषद्ले धेरै शान्ति, अहिंसा र अध्यात्मका कुरा गर्छन् । त्यसैले उपनिषद्कालमा गोमांस निषेधको अवधारणाले आकार लिन थालेको हुन सक्छ । स्वाभाविक रूपमा मानिसहरू दैनिक खेती वा सिकारमा अल्झिनु नपरेपछि ज्ञान-विज्ञानका अनेक काममा उद्दत् हुन्छन् । वैदिक सभ्यता समुन्नत भएको समयमा रचिएका उपनिषद्मा धेरै दार्शनिक चिन्तन भेटिन्छ । तर, ज्ञानले मात्रै चलिआएको परम्परालाई सजिलै चुनौती दिन सक्दैन । त्यसैले उपनिषद्हरूले वैदिक परम्परालाई उल्ट्याउने आह्वान भने गर्न सकेनन् ।
समाजले परिवर्तन खोजिरहेका बेला केही क्रान्तिकारी सोच भएका मानिसहरूले समाजमा ठूलो हलचल ल्याउन सक्छन् । त्यसबेला कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले यस्तै हलचल सिर्जना गरे । उनी वैदिक परम्पराका विरुद्ध उभिए । मानिसहरूलाई यी कर्मकाण्ड नमान्न आह्वान गरे । उनले पूर्णत: अहिंसाको मार्गमा लाग्न मानिसहरूलाई अनुराेध गरे, जसअन्तर्गत पशुवध पूर्णत: निषेधित हुने भयो ।
यसले त्यसबेला खेतीपातीको मोर्चा सम्हालिरहेको वैश्य समुदायलाई ठूलो राहत पुग्यो । वैदिक धर्म त्याग गरेर बुद्धको बाटोमा आएपछि प्राणी मात्रको हिंसा बर्जित हुने भयो । सम्पन्नतासँगै जटिल भएका यज्ञका लागि राजाले गाई उठाएर हैरान भएका वैश्य बुद्धप्रति आशावादी भए । यसले दक्षिण एसियामा तीव्र गतिमा बौद्ध धर्म फैलिन मद्दत पुर्यायो । केही सय वर्षपछि मगधका मौर्य सम्राट अशोकले पनि यो धर्मलाई दक्षिण एसियाभरि फैलाउन योगदान गरे ।
बुद्धकै समय आसपास अहिंसाको सिद्धान्तमा आधारित भएर वर्तमान बिहारबाट अर्को धर्म पनि फैलियो- जैन । महावीरले प्रबर्द्धन गरेको जैन धर्मले बौद्ध धर्मजस्तो धेरै नफैलिए पनि केही स्थानमा बलियो गरी जरा गाड्यो । यसले तत्कालीन समाजले पशुबलि, खासगरी गाईको बलिबाट मुक्ति खोजिरहेको प्रस्ट हुन्छ ।
बौद्ध र जैन धर्मको बढ्दो प्रभाव र फेरिएको आर्थिक-सामाजिक परिस्थितिमाझ वैदिक धर्मावलम्बीहरूले पनि गाईको मासु खान छोड्दै गएका हुन् भन्ने अम्बेडकरको तर्क छ । यसलाई इतिहासकार झाले पनि सदर गरेका छन् ।
अम्बेडकरको दाबी छ, ‘यसपछि वैदिक धर्मावलम्बीमाझ गोवध एक अपराधका रूपमा स्थापित हुन पुग्यो र यो नै दलितको अछुतीकरणको आधार हो ।’
अपराधका रूपमा गोवध
झाको पुस्तकअनुसार उपनिषद् र ब्राह्मणहरूमा गौहत्यालाई त्यति गम्भीर रूपमा लिइएको छैन, ब्राह्मणको गाई मार्न नहुने भन्नेचाहिँ विभिन्न ठाउँमा उल्लेख भएको छ । कतियप उपनिषद्हरूमा दिइएको महापातकको सूचीमा ब्राह्मण हत्या, चोरी, मद्यपान, गुरुआमासँगको यौनसम्बन्धलाई राखिएको छ तर गोवध छैन ।
धर्मसूत्र र स्मृति रचनाको कालखण्डमा बिस्तारै गौहत्यालाई अपराधको रूपमा लिन थालियो । सुरुमा सामान्य अपराधको रूपमा लिइएको गौहत्यालाई गम्भीर अपराधका रूपमा परिभाषित गरियो । गौहत्या उपपातकका रूपमा सुरुमा धर्मसूत्रहरूमा उल्लेख गरिएको झाले उल्लेख गरेका छन् । उनका अनुसार मनु र याज्ञवाल्क्यले पनि परम्परागत कर्मकाण्डका लागि गाईको बलिलाई मान्यता दिए पनि गोहत्यालाई भने उपपातकका रूपमा परिभाषित गर्दै सामान्य सजायको व्यवस्था गरेका छन् । मनु र त्यसपछिका स्मृतिकारहरूले गौहत्याको पापबाट ब्राह्मणलाई भोजन गराएर वा २५ दिनको उपवास बसेर मुक्त हुन सकिने व्यवस्था गरेका छन् ।

व्यास स्मृतिमा गौहत्या गर्ने व्यक्ति अछुत हुने र उसँग बोल्दा पनि अपराध हुने उल्लेख छ । व्यासस्मृतिको यो प्रावधानले अम्बेडकरले भनेजस्तै गोवध प्रतिबन्धसँगै अछुतीकरणको सुरुवात भएको हुन सक्ने संकेत गर्छ ।
परासर स्मृतिले गौहत्या गरेर आफ्नो अपराध लुकाउने व्यक्ति नर्कमा पुग्ने व्यवस्था गरेको छ । यस्तै, कतिपय धार्मिक कानुनमा गोवध गर्ने व्यक्ति कुष्ठरोगी हुने उल्लेख छ ।
इस्वी संवतको सुरुवाती समयदेखि नै गौहत्यालाई गम्भीर अपराधका रूपमा लिन थालेको झाको दाबी छ । यो पौराणिक कालको सुरुवाती समय हो । त्यसैले पछि रचना भएका पुराणहरूमा गाईले उल्लेखनीय स्थान प्राप्त गर्यो । गाई ब्राह्मणको समान, कतै ब्राह्मणमाथि महत्वपूर्ण र देवताको स्थानमा स्थापित हुन पुग्यो । कामधेनु गाईका रूपमा गाईको दैवी स्वरूप परिकल्पना गरियो । गाईलाई धर्ती वा पृथ्वीको स्वरुपका रूपमा पूजा गर्न थालियो ।
के गोमांस प्रतिबन्धले दलितलाई अछुत बनायो?
हिन्दुहरू कसरी गोमांस खानेबाट गोवध नै निषेध गर्ने र शाकाहारी भोजन गर्ने भए?
बदलिएको आर्थिक परिस्थितिमा गाईवस्तुको उपलब्धता घटेपछि वैदिक कालमा झैं मासुका लागि प्रयोग गर्न कठीन हुँदै गयो । यसले मानिसहरूको खाद्य-व्यवहार गोमांसबाट कृषि उपजतिर बद्लिँदै गयो । तर, ब्राह्मणहरू किन शाकाहारी भए र गोवध प्रतिबन्ध नै किन भयो भन्ने प्रश्नको जवाफ भने यति सहज छैन । भारतका चर्चित दलित नेता तथा विचारक अम्बेडकरले बौद्ध धर्मबाट वैदिक धर्मलाई जोगाउन गोवध प्रतिबन्ध गरिएको विश्लेषण गरेका छन् ।
अम्बेडकरले सन् १९४८ मा ‘द अनटचेबिलिटी, द डेड काउ एन्ड ब्राह्मिन’ नामक लेखमा गोमांस प्रतिबन्धको क्रममा नै अछुत-प्रथा सुरुवात भएको दाबी गरेका छन् । यस्तै, ‘द अनटचेबल्स: हु वेयर दे एण्ड ह्वाइ दे विकेम अन्टचेबल्स’ मा पनि उनले यसको चर्चा गरेका छन् । ‘द अनटचेबिलिटी’मा अम्बेडकर लेख्छन्, ‘मेरो विचारमा ब्राह्मणहरूले गाई खान छोड्नु र गाईको पूजा गर्न थाल्नु रणनीतिक काम थियो । गौपुजनको सुरुवातको संकेत बौद्ध र ब्राह्मण धर्मबीचको संघर्षमा भेट्न सकिन्छ । गाई पूजालाई ब्राह्मणहरूले बौद्ध धर्मभन्दा श्रेष्ठ देखिने माध्यमका रूपमा अपनाएका हुन् ।’
समयरेखामा हेर्दा अम्बेडकरको दाबी सत्यको नजिक देखिन्छ । मार्विन ह्यारिसले आफ्नो लेखमा इशापूर्व २०० सम्म गोमांस खाने प्रचलन सामान्य रहेको दाबी गरेका छन् । उनका अनुसार यसपछि बिस्तारै गोमांस खाने चलन घट्दै गएको र सन् १००० तिर आइपुग्दासम्ममा अधिकांश हिन्दु गोमांस नखाने भइसकेका थिए । गोमांस प्रतिबन्धमा कडाई इस्वी संवतको सुरुवाती शताब्दीतिर लागेको देखिन्छ ।
दक्षिण एसियामा बौद्ध र जैन धर्मको वर्चश्व स्थापना हुनुअघि वैदिक धर्मावलम्बीमाझ गोमांसको प्रयोग र गोवध सामान्य थियो । जब बौद्ध र जैन धर्मको वर्चश्व अन्त्य गर्दै वैदिक धर्मको पुनर्जागरण भयो, त्यसबेला उनीहरूले गोमांस खान छोडिसकेको देखिन्छ । हिन्दु शास्त्रहरूले पनि यही कालखण्डमा बिस्तारै गौहत्यालाई पापको रूपमा परिभाषित गरेको देखिन्छ ।
त्यसबेला आर्थिक परिवेशले पनि अम्बेडकरको दाबीलाई बल दिन्छ । पशुपालनको समयबाट कृषियुगमा आइपुग्दासम्म गाईवस्तुको उपलब्धता र अर्थतन्त्रमा भूमिका फेरिएको छ । कृषिकर्म र दहीदूधका लागि गाईको महत्व बढेको तर निश्चित स्थानमा स्थायी बसोबास गर्न थालेसँगै उपलब्धता घटेको थियो । यही समयमा अहिंसाको सिद्धान्तमा आधारित बौद्ध र जैन धर्मले लोकप्रेम पाएका थिए । यसपछि वैदिक धर्मको पुनर्जागरण हुँदा उनीहरू गाईको मासु नखाने मात्रै होइन, गाईलाई पूजा गर्ने भइसकेका थिए ।

अम्बेडकर पुनर्जागरणपछिको वैदिक धर्मावलम्बीलाई तीन समूहमा विभाजन गर्छन्, शाकाहारी, मांसाहारी तर गाईको मासु नखाने र गाईको मासु खाने । गाईको मासु खानेहरू अधिकांश शुद्र वर्ण वा वर्णव्यवस्था बाहिरका ‘अन्त्यज’हरू थिए । ‘अन्त्यज’लाई शाब्दिक रूपमा वनबासीका रूपमा अर्थ्याउन सकिन्छ । अम्बेडकरको दाबीअनुसार परम्परागत रूपमा नै गोमांस खाइरहेका वा गाउँबाट मरेको गाई तथा सिनो उठाउने काम गर्ने जातिहरूले वैदिक धर्मको पुनर्जागरण कालमा पनि यसलाई निरन्तरता दिइरहे । तर, गाईको मासु खान छोडेका ब्राह्मण, क्षेत्रिय र वैश्यहरूले उनीहरूलाई स्वीकार गरेनन् र सामाजिक बहिष्कार गरे । यहाँबाट नै अछुत-प्रथाको सुरुवात भएको अम्बेडकरको दाबी छ ।
गोमांस नखाने जातिहरूलाई पनि मरेको गाई व्यवस्थापन गर्न शुद्र वा अन्त्यज जातिको आवश्यकता पर्ने भयो, किनभने ब्राह्मण वा क्षेत्रीयहरू लामो समयअघिबाट नै यसकिसिमका शारीरिक श्रमबाट अलग भइसकेका थिए । अझ ब्राह्मणले सिनो व्यवस्थापन गर्ने कुरा त कल्पनाबाहिरको हुने भयो । त्यसैले, धर्मसुत्रहरूमा केही जातिका लागि मरेको गाईको मासु खान वा छाला प्रयोग गर्न खुला गरियो । तर, उनीहरूलाई पनि अछुतकै व्यवहार गरियो ।
भारतमा गौरक्षा-राजनीतिको सुरुवात
सातौं शताब्दीमा रसिदुन खिलाफतका क्रममा अरबहरूले अफगानीस्तान र पाकिस्तानको केही भूमिमा जित हासिल गरे । यससँगै दक्षिण एसियामा इस्लाम शासनको युग सुरु भयो । तर दशौं शताब्दीसम्म उनीहरूले सिन्धु नदी पश्चिमका केही भूभागमा मात्र शासन गरे ।
यसपछि विभिन्न इस्लाम शासकहरूसँग भारतका हिन्दु राजाहरूको पटक-पटक युद्ध हुन्छ । ११औँ शताब्दीमा सुल्तान मुहम्मद गजनवीले भारतका विभिन्न मन्दिरहरूमा तोडफोड गरेका थिए । यसपछि १२औँ शताब्दीमा घोरका माेहम्मदले पर्सियादेखि बंगालसम्मको विशाल साम्राज्य निर्माण गरे र राजधानी दिल्ली सारे । यससँगै अहिलेको भारत र बंगलादेशको भूमिमा पनि इस्लाम शासन सुरु भयो । सुल्तान र त्यसपछि मुगल राजवंश गरी १९औँ शताब्दिसम्म भारतमा इस्लाम शासकहरूले शासन गरे ।
इस्लाम शासकहरूको शासनकालमा बसाइँसराइँ र धर्म परिवर्तन दुवै माध्यमबाट भारतमा मुसलमान जनसंख्या बढ्यो । स्वाभाविक रूपमा मुसलमानहरूका लागि गोमांस खाद्य वस्तु थियो । त्यसैले, उनीहरू गोमांस खान थाले ।
केही मुगल सम्राटहरूले गोमांसको विषयलाई संवेदनशील रूपमा लिएको देखिन्छ । बाबुरका छोरा हुमायुँले गोमांस खान अस्वीकार गरेका थिए भनिन्छ । सम्राट अकबरले गोवधमा प्रतिबन्ध लगाएका थिए, जुन उनका छोरा जाँहागिर र त्यसपछि शाहजहाको पालामा पनि कायम थियो । हिन्दुविरूद्ध कट्टर नीति लिएका औरंगजेबको पालमा यो प्रतिबन्ध हटेको हुन सक्छ ।
सन् २०१८ मा इन्डियन एक्सप्रेसमा प्रकाशित आफ्नो लेखमा अद्रिजा रोय चौधरी लेख्छिन्, ‘मध्यकालमा गाईको पवित्रतासम्बन्धी हिन्दु दृष्टिकोण मुस्लिम शासकको दृष्टिकोणसँग टकराउन पुग्यो, जसका लागि गोमांस सामान्य खाद्यवस्तु मात्रै थियो । यो भिन्नतामाझ पनि गोमांस सेवन दुई समुदायबीचको द्वन्द्वका रूपमा नभएर भिन्नताको रूपमा मात्रै सीमित थियो ।’
१७औँ शताब्दिमा मराठा साम्राज्यको स्थापना गरेका सम्राट छत्रपालजी शिवाजीको मुख्य प्रतिद्वन्द्विता मुगल सम्राट औरंगजेबसँग थियो । शिवाजीले आफूलाई हिन्दु सम्राटका रूपमा प्रस्तुत गर्दै ब्राह्मण र गाईको संरक्षक भएको दाबी गरे । ‘ब्याकग्राउण्ड टु अन्डरस्ट्यान्डिङ क्याटल सिचुएसन अफ इन्डिया: द स्याक्रेड काउ कन्सेप्ट इन हिन्दु रिलिजन एण्ड फोक कल्चर’ शीर्षकको अनुसन्धानमूलक लेखमा फ्रेडरिक सिमुन्स र डेरेक लोड्रिक लेख्छन्, ‘ब्राह्मण र गाईलाई भारतको मुस्लिम जनसंख्याको चंगुलबाट बचाउनु शिवाजीले आफ्नो पवित्र कर्तव्य ठानेका थिए ।’
यति बेलासम्म गाई एक प्रकारले हिन्दु धर्मको प्रतीकको रूपमा स्थापना भइसकेको थियो । गाईकै नाममा हिन्दु-मुस्लिम द्वन्द्वलाई बढावा दिने काम भने दयानन्द सरस्वतीले सुरु गरेको गौरक्षीणी सभाले गर्यो । सन् १८८१ मा उनले गोकरूणानीधि नामक पम्पलेट प्रकाशन गरे र आफ्नो दृष्टिकोणलाई व्यापक बनाए । एक वर्षपछि, सन् १८८२ मा उनले गोरक्षिणी सभा गठन गर्दै अभियान सुरु गरे । सुफल बेपारीको अनुसन्धानममूलक लेख ‘काउ पोलिटिक्स इन इन्डिया: अ स्टडी इन रिसेन्ट डेभलपमेन्टस्’का अनुसार गाईप्रतिको धार्मिक भावनालाई राष्ट्रवादी आन्दोलनसँग जोड्ने कामका लागि दयानन्दद्वारा स्थापित आर्य समाज र गौरक्षीणी सभाले गर्यो । उनका अनुसार सुरुवाती दिनमा यस अभियान मुस्लिमविरोधी नभए पनि चाँडै यसले मुस्लिमविरोधी अभियानको स्वरूप लियो । र, दक्षिण एसियाका विभिन्न स्थानमा हिन्दु-मुस्लिम दंगा तथा धार्मिक तनाव निम्त्याउन थाल्यो । वास्तवमा, दयानन्द सरस्वतिको गौरक्षिणी सभा नै गाईलाई राजनीतिको विषय बनाउने पहिलो कदम थियो ।
यसपछि १८८० र १८९० को दशकमा गाईसँग सम्बन्धित ठूला घटनाहरू देखा परे । १८९३ को गौहत्याको विषयलाई लिएर भएको दंगाले विशाल रूप लिएको थियो । यसपछि लाहोर, दिल्ली, वर्तमान उत्तर प्रदेश र बिहारका अधिकांश भागमा नियमितजस्तो दंगा हुन थाल्यो । १९०९ मा कलकत्तामा, १९११ मा मुजफ्फरपुरमा, १९१२ मा फैजावादमा ठूला दंगा गाईकै विषयबाट सिर्जना भएका थिए । १९१७ र १९२८ मा भारतभरि यस किसिमका दंगा फैलिएका थिए ।
यसपछि लगातार गाई भारतीय राजनीतिको केन्द्रमा रहँदै आएको छ । भारतको स्वतन्त्रतापश्चात संविधान निर्माणको क्रममा पनि गोवध र गोमांस सेवनलाई संविधानबाट नै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको थियो । तर, धर्मनिरपेक्ष राष्ट्रमा यो सम्भव नहुने भन्दै प्रमुख नेताहरू पछि हटेपछि यो प्रावधान राखिएन । सन् १९६६ मा विश्व हिन्दु परिषद, राष्ट्रिय स्वयंसेवक संघ र अरू विभिन्न संगठनहरूले सर्वदलीय गोरक्षा महाअभियान समिति गठन गरी आन्दोलन सुरु गरे । मूलत: साधुहरू सहभागी भएको यो आन्दोलनका क्रममा एक लाखभन्दा बढी मानिसहरू सडकमा निस्किएका थिए । आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले एक समिति बनाए पनि समिति कुनै निष्कर्षमा नपुगेपछि यो मुद्दा त्यतिकै सेलाएको थियो ।
अहिले भारतका थुप्रै राज्यमा गोवध पूर्णतः प्रतिबन्धित छ भने बंगाललगायतका कतिपय राज्यले शर्तसहित खुला गरेका छन् । केरला, अरूणाञ्चल, मेघालय, नागाल्याण्ड, सिक्किम, त्रिपुरा, मणिपुर र मिजोरममा मात्रै गोवध वा गोमांसबारे कुनै किसिमको कानुनी व्यवस्था गरिएको छैन ।
यही कदमलाई पछ्याउँदै विश्व हिन्दु परिषद, राष्ट्रिय स्वयंसेवक संघ र यसका घटक संगठनहरूले गौरक्षालाई धार्मिक विषय बनाउँदै आएका छन् । उनीहरूको अभियान मूलत: मुस्लिमविरोधी हुने गरेको छ । २१औँ शताब्दीमा दक्षिणपन्थी हिन्दु अतिवादको वर्चश्व बढेसँगै र भाजपा सत्तामा आएसँगै गाई राजनीतिको केन्द्रमा तानिएको छ । राष्ट्रिय स्वयंसेवक संघले सन् २०१२ मा गौरक्षक दल नामक मिलिसिया दस्तासमेत सुरु गरेको छ । मुस्लिम र दलित समुदायका मानिसहरू यो दस्ताको तारो बन्ने गरेका छन् ।
नेपालमा गोरक्षाको इतिहास
हिन्दुका पूर्खाले प्राचीनकालमा गाईको बलि दिन्थे र मासु खान्थे भन्ने कुराको अहिले इतिहास बुझ्नका लागि उपयोगी हुनसक्छ । तर, वर्तमान बहसका लागि यो त्यति महत्वपूर्ण नहुन सक्छ । गोमांसमा प्रतिबन्धको सुरुवात नै २२-२३ सय वर्षअघि भएको देखिन्छ । दुई हजार वर्षभन्दा लामो समयमा उनीहरूको आस्था, कर्मकाण्ड, धार्मिक प्रचलन र खाद्य व्यवहार सबै फेरिइसकेको छ । अहिले हिन्दुहरूका लागि गाई एक देवताको प्रतीक हो । गोमांसको प्रयोग उनीहरूका लागि बर्जित छ ।
यत्तिकै महत्वपूर्ण अर्को सत्य के हो भने गोमांस खाने जनजाति र दलितहरूले समेत यसको भार व्यहोर्नु परिरहेको छ । अहिलेसम्म उनीहरू उच्च जातीय हिन्दु शासकबाट निर्मित राज्यको अवधारणबाट शासित छन् र परम्परादेखि चलिआएको गोमांसको प्रयोग खुलेर गर्न सकेका छैनन् ।
पृथ्वीनारायण शाहको राज्यबिस्तार अभियानपछि गोवध र गोमांस प्रतिबन्ध गर्न राज्यले गरेका प्रयासहरू राम्रैसँग दस्तावेजीकरण भएको छ । यसका प्रशस्त प्रमाणहरू पनि पाइन्छ । तर, त्यसअघि वर्तमान नेपालभित्रको विभिन्न भूगोलमा रहेका विभिन्न राज्यमा कस्तो व्यवस्था थियो भन्ने विषयमा पर्याप्त अनुसन्धान भएको छैन । पूर्वी पहाडमा पृथ्वीनारायण शाहको राज्यबिस्तारपछि मात्रै गोवधमा प्रतिबन्धको प्रयास सुरु भएको थियो । पश्चिम पहाड र नेपाल उपत्यकामा भने यसअघि नै प्रतिबन्ध थियो । यो प्रतिबन्ध कहिले सुरु भयो त ?

यो प्रश्नको जवाफ खोज्न मैले इतिहासकार त्रिरत्न मानन्धरलाई टेलिफोन गरेँ । उनी विगतमा लामो समय त्रिभूवन विश्वविद्यालयको इतिहास विभागका प्रमुख हुन् भने नेपालको इतिहासमाथि विभिन्न अनुसन्धानमूलक पुस्तकका लेखक पनि हुन् । गोवध प्रतिबन्धको विषयमा बुझ्न मैले उनलाई नै फोन गर्नुको कारण चाहिँ उनी ‘क्राइम एण्ड पनिसमेन्ट इन नेपाल: अ हिस्टोरिकल पर्स्पेक्टिभ’ पुस्तकका लेखक भएकाले पनि हो । तुलसीराम वैद्य र मानन्धर मिलेर लेखेको यो पुरानो किताब अहिले बजारमा उपलब्ध रहेनछ । तर, यसका लेखकलाई गोवधबारे गरिएको सजायको व्यवस्थाबारे त थाहा हुने नै भयो ।
यसबारे उनीसँग मेरो पहिले पनि एक-दुई पटक कुरा भइसकेको थियो । कात्तिक १७ गते बुधबार मैले पहिलोपटक फोन गर्दा उनले कुन-कुन क्षेत्रमा कस्तो-कस्तो व्यवस्था थियो भन्ने सर्सर्ती जानकारी दिए ।
‘काठमाडौं उपत्यकामा पहिलेदेखि नै सजाय कडा थियो,’ उनले भने, ‘धेरैजसो त ज्यान सजाय नै भएको पाइन्छ ।’
अनि गोवध प्रतिबन्ध उपत्यकामा कहिलेदेखि सुरु भयो त ? मानन्धर भन्छन्, ‘ठीक यही मितिमा सुरु भयो भन्नलाई प्रमाण पुग्दैन । प्राचीनकालमा के थियो भन्ने हामीलाई थाहा छैन तर मध्यकालमा गोवध प्रतिबन्धित थियो र गोवध गर्नेलाई कडा सजाय हुन्थ्यो ।’
१४३६ सालमा राजा जयस्थिति मल्लले जारी गरेको न्यायविकासिनीमा गोवधका लागि छुट्टै सजायको व्यवस्था गरिएको छैन । गाईवस्तुको चरन र गौशाला व्यवस्थापन, अरूको बालि नष्ट गरेमा, हराएमा, चोरी गरेमा के गर्ने भन्ने विषयमा विभिन्न व्यवस्था भए पनि यसमा गोवधबारे भने कुनै व्यवस्था छैन । तर, गोवधलाई त्यसबेला पनि पापकर्मका रूपमा लिइन्थ्यो भन्ने संकेत भने यो दस्तावेजले गर्छ । न्यायविकासिनीको व्यवहार प्रकरणअन्तर्गत ५६१ बुँदामा लेखिएको छ, ‘ब्राह्मणलाई मार्ने, बाबुलाई मार्ने, गाईलाई मार्ने, गुरूलाई मार्ने, बालकलाई मार्ने, गुरूतल्पगामी, धेरैले बनाएको मर्यादा तोड्ने र स्त्री हत्या गर्ने यी यहाँ बताइएका उग्र पापीहरू जुन जस्ता लोकमा जालान्, जानाजान झुटा जवाफ दिने व्यक्तिहरू पनि तिनैतिनै त्यस्तै लोकहरूमा जान्छन् ।’
मल्लकालको पछिल्लो समयमा भने यसलाई गम्भीर अपराधको रूपमा कारबाही गरिएको प्रमाण भेटिन्छ । उदाहरणका रूपमा जयप्रकाश मल्लका बाबु राजा जगतजय मल्लको शासनकालमा दोलखा गाई मारेको घटनामा सर्वस्वसहित मृत्युदण्डको सजाय तोकिएको थियो । मानन्धर भन्छन्, ‘दोलखामा भोटेहरूले गाई मारेर खाएको भन्ने सुनिएकाले यदी त्यस्तो गरेको भए जिउधन सर्वस्व गर्नु भन्ने आदेश भएको थियो । यसबाट के देखिन्छ भने गाई मार्नेलाई ठूलो सजाय दिइन्थ्यो ।’ काठमाडौं उपत्यका वरपर तामाङहरूको बसोबास भएकाले त्यसबेला भोटे भनेर तामाङलाई भनिएको हुनसक्छ । तामाङहरू बोन परम्पराबाट आएको हुनाले गाईको मासु चढाउने र खाने सांस्कृतिक परम्परा उनीहरूको थियो । तर, मल्लकालमा नै सबै जातिलाई गाई मार्न/खान प्रतिबन्ध लगाइएको प्रमाण यो घटनाले दिन्छ । ‘यहाँ गोवध गर्नेलाई ज्यान सजाय नै गर्ने प्रचलन थियो,’ मानन्धर भन्छन् ।
महेशराज रेग्मी सम्पादित रेग्मी रिसर्च सेरिजको डिसेम्बर १९८० को अंकले पनि मानन्धरको भनाइ पुष्टि गर्छ । गोवधमाथिको लेखमा रेग्मीले लेखेका छन्, ‘वर्तमान नेपाल अधिराज्यको भूभागभित्र पर्ने विभिन्न स्थानमा परम्परागत रूपमा नै गोवध प्रतिबन्धित थियो । सन् १७२२ मा काठमाडौं भ्रमण गरेका फादर डेसिडेरीले लेखेका छन्, ‘मानिसहरूमा गाईको पवित्रतामाथि ठूलो अन्धविश्वास छ ।’ सन् १७४० मा अर्का क्रश्चियन मिसनरीले पनि काठमाडौंमा गोवध गर्नेलाई मृत्युदण्ड दिइने गरेको उल्लेख गरेका छन् ।’
डेविड गेल्नर, जोअन्ना पाफ र जोन वेल्पटनद्वारा सम्पादित ‘नेसनालिज्म एन्ड इथ्निसिटी इन अ हिन्दु किंगडम: द पोलिटिक्स अफ कल्चर इन कन्टेम्पररी नेपाल’ नामक पुस्तकमा संकलित ‘द किंग एन्ड द काउ’ शीर्षकको लेखमा एक्सेल मिखाइल्सले उपत्यकामा शाह वंशको राज सुरु भएयता गोवध प्रतिबन्ध र त्यसमा भएको प्रतिरोधबारे विस्तृत व्याख्या गरेका छन् । उनले ‘गोरखा’ शब्दको उत्पति नै संस्कृतको गोरक्षाबाट भएको हुनाले गोरखाली शाह राजाहरू स्वाभाविक रुपमा नै गोरक्षाका लागि तत्पर हुने गरेको दाबी गरेका छन् ।
मिखाइल्सका अनुसार गोरखाका राजा राम शाहले जारी गरेको शाही आदेशमा गाईको रक्षा गर्नु राजाको कर्तव्य भएको बताएका छन् । ‘नत्र राजालाई प्रत्यव्यय हुने र ब्राह्मणलाई खाना खान दु:ख हुन्छ’ पनि आदेशमा भनिएके छ । ’

मानन्धर भने गोरखामा गोवध प्रतिबन्धित भए पनि सजाय भने एकदमै कम भएको बताउँछन् । ‘गोरखामा सामान्य जरिवाना मात्रै थियो, त्यस्तो कडा सजाय थिएन,’ उनी भन्छन्, ‘हुन सक्छ त्यहाँ मगर जातिको बसोबास धेरै भएको र उनीहरू गोमांस खाने भएकाले त्यति कडा सजाय गरिँदैन थियो ।’
पृथ्वीनारायण शाहको राज्यविस्तारपछि गोवधमा प्रतिबन्ध
मानन्धरका अनुसार आफ्नो राज्य बिस्तार अभियानपछि पृथ्वीनारायण शाहले गोरखाको परम्परा नभएर नेपाल उपत्यकाकै परम्परा पछ्याए । उनले गोवधलाई पञ्चमहापापमध्ये एक महापापका रूपमा परिभाषित गरे र मृत्युदण्ड दिने प्रावधान राखे ।
मिखाइलका अनुसार पहिलोपटक मुलुक भरी गोवध प्रतिबन्ध रणबहादुर शाहको पालामा भएको थियो । वनारसबाट फर्किएको एक वर्षपछि सन् १८०५मा गोवध नगर्नु भनी उनले शाही आदेश जारी गरेका थिए । शाहद्वारा जारी आदेशको २२औँ बुँदामा कन्का नदी पश्चिम र गढवाल पूर्वमा गोवध प्रतिबन्ध सम्बन्धी प्रावधान छ:
आजदेखि गोवध नगर्नू । गर्न्याको जिउधनमा पर्ला भनी सुनाइदिनू । अब उप्रान्त गोवध गर्न्याको अम्बालीले जिवै मासिदिनू ।
यो आदेशमा चौंरी गाई मार्दा भने कानुन नलाग्ने व्यवस्था छ ।
रणबहादुर शाहको यो आदेशले प्रत्यक्ष रूपमा किरातीहरूलाई समस्यामा पारेको थियो । पश्चिमका मगर र गुरूङहरूमाथि यसअघिबाट नै गोवध र गोमांसमा प्रतिबन्ध थियो नै । नेपाल उपत्यकाअन्तर्गतका राज्यहरूबाट नियन्त्रित क्षेत्रमा बसोबास गर्ने तामाङहरूमा पनि एक किसिमले प्रतिबन्ध नै थियो । तर, पनि तामाङहरूले गोमांस खान छोडेका भने थिएनन् । दोलखा प्रकरण यसैको उदाहरण हो ।
कतिपय भूगोलमा भने तामाङहरूको आफ्नै शासन थियो । उहादरणका लागि त्यसबेलासम्म तिमालमा तामाङ राजाले नै शासन गरिरहेका थिए । तामाङहरूको आफ्नै शासन रहेको भूगोलमा स्वभाविक रूपमा गोमांस प्रतिबन्धको कुरा आउने नै भएन । उनीहरू पृथ्वीनारायण शाहबाट पराजित भएको केही समयसम्म पनि निर्वाध रूपमा गोमांसको प्रयोग गरिरहेका थिए ।
खम्बुवान र लिम्बुवानका जनजातिहरूले भने यसबेलासम्म बिना रोकतोक गोमांस खाइरहेका थिए । कतिपय सांस्कृतिक कर्मकाण्डमा गाईको मासु चढाउने प्रचलन समेत थियो । लिम्बूहरू आफ्ना देवता थेवा साम्माङलाई गाई वा गोरूको भोग चढाउने परम्परा छ । यस्तै लिम्बुहरूले विवाहको समयमा गर्ने अनुष्ठान ‘मेफ्रमा’का लागि पनि गाईगोरूको भोग आवश्यक हुन्छ । त्यसैले, शाहको यो आदेशले खम्बुवान र लिम्बुवान क्षेत्रका किराती जातिहरूलाई सबैभन्दा बढी प्रभावित तुल्यायो ।
यस समय गोवधलाई लिएर कतिसम्म कठीन सजाय दिइन्थ्यो भन्ने सन् १८०६ को एउटा घटनाले देखाउँछ । पश्चिम नेपालमा गाई मारेको एक दलितलाई कुनै कारबाही गरिएको छैन भन्ने खबर काठमाडौंमा आइपुग्यो । त्यसपछि काठमाडौंबाट विचारी हिरेन्द्र तिवारीका नाममा आदेश जारी भयो । डिसेम्बर १९८० को रेग्मी रिसर्च सिरिजमा यसघटनाबारे उल्लेख छ, जसअनुसार त्यसबेला गोवध गरेको आरोप लागेका दमाइलाई कारबाही गर्न काठमाडौंबाट आदेश दिइएको थियो ।
‘उसको पछाडिको मासु झिक्नू र नुनचुक हालिदिनू । उसलाई आफ्नै मासु खान लगाउनू र मारिदिनू,’ भन्ने आदेश त्यसबेला भएको थियो ।
लिम्बूवानमा गोवध प्रतिबन्धसम्बन्धी केही दस्तावेज यसपटक मदन पुरस्कार पाएको भगिराज इङ्नामको किताब ‘लिम्बूवानका ऐतिहासिक दस्तावेज’मा पनि समावेश छन् । ‘गोवध गरे मास्नू’ भन्ने आदेश भएको १८४३ को आदेशसम्बन्धी दस्तावेज उनले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।
गिर्वाणयुद्धविक्रम शाहको पालामा पनि गोवध नियन्त्रण गर्न कडा आदेश जारी गरियो । खासगरी किरातहरूको बसोबास भएको क्षेत्र तामाकोशीदेखि सिक्किमसम्मको भूभागमा गोवध प्रतिबन्ध कार्यान्वयन गराउन शिवराज, काशिराम र ऋषि पाध्याको नाममा आदेश जारी गरिएको रेग्मी रिसर्चलाई नै उद्धृत गर्दै राजकुमार दिक्पालले आफ्नो पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’मा उल्लेख गरेका छन् ।

दिक्पाल अगाडि लेख्छन्, ‘त्यसबेला सिनो भन्दै मरेको चौपायसमेत नखान भोटे, राई, माझी, मुर्मी(तामाङ), जातिलाई १८७४ वदी १२ मा, गुरूङ जातिलाई १८६७ वदी १२ मा, र चेपाङ, सुनुवार, हायु, पहरी, बरामु र थान्सी (थामी?) जातिलाई १८६२ मा आदेश जारी गरी गोवध नगर्न आदेश दिइएको थियो ।’ यसको अर्थ त्यो मितिसम्म उनीहरूले गोवध र गोमांस सेवन जारी राखेका थिए भन्ने नै लाग्छ, अन्यथा यो आदेश जारी गर्नुपर्ने आवश्यकता पर्ने थिएन । १८८७ सालमा राजेन्द्रविक्रम शाहले तिब्बतमा गोरू बेच्न समेत प्रतिबन्ध लगाए । यससम्बन्धी दस्तावेज इङ्नमको किताबमा पनि छ ।
दिक्पालका अनुसार राज्यले लगाएको यो प्रतिबन्ध निरन्तरजस्तै उल्लंघन भइरह्यो । उनका अनुसार १८४३ सालमा रणबहादुर शाहले १७ जना लिम्बूहरूको नाममा जारी गरेको लालमोहरमा सिक्किमबाट आफ्नो थातथलोमा फर्किन मात्रै भनिएको छैन, उनीहरूलाई सीमापार बसेर लुटपाट र गोवध गरेको माफीसमेत दिइएको छ । तर, उनीहरूलाई अब उप्रान्त गोवध नगर्नू भनी आदेश पनि दिइएको छ ।
यसको पाँच वर्षपछि शाहले यस्तै व्यहोराको अर्को आदेश जारी गरेका छन् । १८४८ साउनमा पालसिंह राईको नाममा जारी भएको आदेशमा पनि गोवध नगर्नू भनिएको छ । यसरी पटकपटक एकै किसिमको आदेश गर्नुपर्ने बाध्यतापछाडि किरातीहरूले गोवधको आदेशलाई अस्वीकार गरेकाले नै हो ।
एक्सेल मिखाइल आफ्नो लेखमा नेपालमा कहिलेकाहीँ गोवध प्रतिबन्ध कडा रूपमा लागू गर्न खोजिए पनि अधिकांश राजाहरूले यसलाई सांकेतिक रूपमा लिएको तर्क गर्छन् । नेपालको जनसंख्या बनोट र सांस्कृतिक विविधताका कारण पूर्णरूपमा गोवध निषेध सम्भव नभए पनि हिन्दु राजा भएको हुनाले गोवध प्रतिबन्धसम्बन्धी आदेश जारी गर्ने, त्यसमा अपराधको प्रष्ट परिभाषा र सजाय तय नगरिने तथा विभिन्न किसिमका छिद्र मार्फत् गोवध वा गोमांस सेवनको बाटो खुला राखिएको उनको निष्कर्ष छ ।
जंगबहादुरको मुलुकी ऐनमा गोवध
जंगबहादुर राणाले १९१० सालमा मुलुकी ऐन जारी गरे । यसमा अधिकांश सजाय जातका आधारमा तय गरिएको छ । गोवधका लागि पनि कतिपय हिसाबले जातकै आधारमा तय गरिएको छ । तर, मूलभूत रूपमा यसअघि मृत्युदण्डको सजाय हुने गरेकोमा कतिपय अवस्थामा यसलाई जन्मकैदमा घटाउने काम पनि मुलुकी ऐनले गरेको थियो ।

ऐनको गोवधसम्बन्धी महलको पहिलो बुँदामा ‘जानि जानि गाई मार्यो भन्या त्यसलाई दामल गर्नू ।’ भन्ने प्रावधान छ । बृहत नेपाली शब्दकोशका अनुसार दामलको अर्थ ‘राणकालमा प्रचलित कुनै ठूलो अपराधी वा विद्रोहीलाई शरीरमा ‘दामल’ तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैद समेत गर्ने वा त्यस्तो सजाय’ भनिएको छ । त्यसैले, गोवधलाई मुलुकी ऐनले जन्मकैदको सजाय गरेको बुझ्न सकिन्छ ।
यसकै दोस्रो बुँदामा भने गाईमाथि कसैले जानीजानी हतियार चलायो भने नमासिन्या जातलाई ऐन बमोजिम अंश सर्वश्व गरी छोडिदिनू र मासिन्या जात भए मासिदिनू भन्ने प्रावधान छ । यसको सातौं बुँदामा कसैले गाई मार्दै गरेको देखेर गाई मार्नेलाई त्यही ठाउँमा मार्यो भने मारेको खत लाग्दैन भनिएको छ । गाई मारेको पछि थाहा भएर उसलाई कसैले मार्यो भने चाहिँ मुडिन्यालाई मुडिदिनू र काटिन्यालाई काटिदिनू भन्ने छ । यसको अर्थ गाई मार्दै गरेको कसैले प्रत्यक्ष देखेमा भने उसलाई जोसुकैले मार्न पाउने व्यवस्था ऐनमा नै गरिएको थियो ।
गोवधसम्बन्धी महलकै नवौं बुँदाले पनि गोवध गर्नेलाई जोकसैले मार्न पाउने र त्यसमा कानुन नलाग्ने व्यवस्था गरेको छ । ‘गोर्खा राजभर मुलुकमा गाईगोरू मार्न भनि हतियार झिकी कसैले काट्नालाई तयार भएको देख्यो भन्या मार्न हुँदैन नमार भनी मनाही गर्नु,’ यो बुँदामा लेखिएको छ, ‘उती गर्दा पनि नमानी आफ्ना सामन्नेमा मार्यो भन्या तेस्ता गोवध गर्न्या मानिसलाई उसैदिन उसैबेला उसैठाउँमा काटी मारिदिन्यालाई ज्यान मार्यौ भन्या खतबात लाग्दैन ।’
त्यसैले यो महलको पहिलो बुँदामा ‘दामल’ गर्नु भनिए पनि पछाडिका बुँदाहरूले भने गोवध गर्नेलाई ज्यान सजाय नै हुने प्रावधान राखेको छ । गाई मार्दै गरेको रंगेहात पक्राउ नपर्दा ज्यान जोगिने कुराले सजाय खुकुलो भएको मान्न सकिन्छ । मार्दै गरेको देखेमा जो कसैले पनि हत्या गर्नसक्ने कुराले यसलाई अझ कठोर पनि बनाएको छ ।
यो मुलुकी ऐनले सिंगो मुलुकभरि गोवधसम्बन्धी एकै किसिमको व्यवस्था गर्यो । आफ्नो सांस्कृतिक परम्परा जे भए पनि नेपाल भित्रका सबै जनजातिहरूमाथि गोवध प्रतिबन्ध लगायो । तर भीरबाट लडेर मरेका वा खुट्टा भाँचिएका वा थला परेका पशु चौपाय खान खान मिल्ने जातलाई खुला गर्यो ।
देशव्यापीरूपमा सबै जनजाति समुदायमाथि गोबध प्रतिबन्ध गर्ने यो मुलुकी ऐन सबैभन्दा प्रभावशाली कडी बन्यो । तैपनि गुपचुप रूपमा तामाङ, खम्बुवानका केही स्थान र लिम्बूवानमा गोमांस सेवन चली नै रहयो । भारतको पश्चिम बंगाल तथा सिक्किमसँग सीमा जोडिएका ठाउँमा सीमा पारी लगेर काट्ने चलन अहिलेसम्म नै छ । रणबहादुर शाहको पालबाट प्रभावशाली प्रतिबन्धको प्रयत्न सुरु भएको र मुलुकी ऐनले यसलाई अझ व्यवस्थित गर्न खोजेको पूर्वी नेपालमा गोवध प्रतिबन्धको इतिहास लगभग दुईसय वर्षको मात्रै छ । त्यसैले, यहाँका जनजातिहरूमाझ गुपचुप नै चले पनि गोमांसको प्रचलन हट्न सकेको छैन ।
प्रजातन्त्र स्थापनापछि गोवधसम्बन्धी प्रावधान
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि गोमांस सेवन तथा गोवधको मामला अलि खुकुलो हुने अपेक्षा जनजाति तथा दलित नेतृत्वमा थियो । बीपी कोइरालाको धर्मनिरपेक्षतावादी तथा समावेशीतासम्बन्धी उदार सोचले पनि त्यो सम्भावनालाई इङ्गित गरेको थियो । तर, न त बीपीले लामो समय मुलुकको नेतृत्व गर्न पाए, न त प्रजातन्त्रले नै निरन्तरता पायो । २०१७ सालमा कु गरेपछि राजा महेन्द्रले पञ्चायती संविधान मार्फत मुलुकलाई हिन्दु राष्ट्र घोषणा गरे । यसअघि राष्ट्रको धर्म निर्धारण गरिएको थिएन । त्यसैले राजा महेन्द्रले नेपाललाई ‘असली हिन्दुस्ताना’ बनाउने पृथ्वीनारायण शाहको सपनालाई औपचारिक रूप दिए । यसको भार गैरहिन्दु जनतातिमाथि पर्न गयो ।

राजा महेन्द्रले २०१९ चैत ३० मा जारी गरेको मुलुकी ऐनले पनि जंगबहादुरकै पालामा जस्तो कसैले गाई मारिरहेको देख्यो भने गाई मार्नेलाई काटीमार्दा कानुन नलाग्ने प्रावधान राख्यो, जुन आधुनिक राज्यका लागि अत्यन्तै नसुहाउने प्रावधान थियो । कुनै पनि व्यक्तिले अपराध नै गरेको भएमा पनि उसलाई सजाय राज्यले प्रकृया पूरा गरेर मात्रै दिन्छ । आजभन्दा झन्डै ६० वर्षअघि मात्रै अघिको यो कानुनमा भने जोसुकैले ज्यान मार्ने छुट दिइएको थियो ।
अन्य अवस्थामा भने यो ऐनले गाई मार्नेलाई १२ वर्ष सजाय हुने व्यवस्था गर्यो । यसअघि चौंरीको विषयमा छुट दिएको भए पनि यसपटक चौंरी मार्नेलाई ४० रुपैंया जरिवाना तोक्यो । साथै, गोरू, साँढे वा बाँझो गाई विदेश निर्यात हुने गरी बेच्न समेत प्रतिबन्ध लगायो ।
राजा महेन्द्रसम्बन्धी एउटा विषय भने निकै रोचक छ । २०१३ सालमा भएको राजा महेन्द्रको राज्याभिषेकका लागि शास्त्रमा उल्लेख भएअनुसार उनको आसन तयार पार्न पाकिस्तानबाट गोरूको छाला ल्याइएको थियो । यस्तो आसनलाई भद्रासन भनिन्छ । भारतको टाइम्स अफ इन्डियाले सन् १९५६ मा यससम्बन्धी समाचार प्रकाशित गरेको थियो । यो समाचारको सानो अंश मिखाइलले आफ्नो लेखमा उद्धृत गरेका छन् । उनै राजा महेन्द्रले पछि गोवधसम्बन्धी जंगबहादुरको सजायलाई निरन्तरता मात्रै दिएनन्, गाईलाई राष्ट्रिय जनावर पनि घोषणा गरे ।
२०४६ को जनआन्दोलनमार्फत बहुदल स्थापना भए पनि नेपाल हिन्दु अधिराज्य नै रहिरह्यो । २०१९ को मुलुकी ऐनले गरेको व्यवस्था नै गोवधका लागि कायम रहयो । २०५२ मा माओवादी सशस्त्र युद्ध सुरु भयो । माओवादीहरूले गाउँगाउँमा गाईगोरू काटेर खाने तथा अरूलाई पनि खुवाउने गरे । सशस्त्र युद्धपछि २०६२-६३ को जनान्दोलनमा धर्मनिरपेक्षताको मुद्दा उठ्यो । नयाँ संविधानमा मुलुक धर्मनिरपेक्ष त भयो तर गोवध भने अवैध नै रहयो । पञ्चायती संविधान मार्फत गाईलाई राष्ट्रिय जनावर घोषणा गरिएको थियो, जुन संविधानसभाबाट बनेको धर्म निरपेक्ष संविधानमा पनि कायम रह्यो । यसपछि जारी गरिएको अपराध संहिताले गोवधबापत ३ वर्षको सजाय तोक्यो । जुन अहिले पनि कायम छ । २०६२-६३ मा जुन खुलापन थियो, अहिले त्यो बिस्तारै संकुचित हुँदै गएको छ ।

प्रतिबन्धको प्रतिरोध
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअघि गोवध प्रतिबन्धमा भएको प्रतिरोधबारे विस्तृत जानकारी आउन सकेको छैन । तर, त्यसपछिका दिनमा भने गोवध प्रतिबन्धको निरन्तर प्रतिरोध भइरहेको छ । यस्तो प्रतिरोध मुलत: तामाङ, राई, लिम्बु र दलित समुदायबाट भइरहेको छ । यस्तो प्रतिरोध प्रत्यक्ष र सांकेतिक रूपमा हुने गरेको छ । सुवासको पेन्टिङ ‘एसेज अन काउ’ सांकेतिक प्रतिरोधको पछिल्लो निरन्तरता हो भने मुक्तान थेवालगायतको प्रदर्शन प्रत्यक्ष प्रतिरोध । रणबहादुर शाहले शाही आदेश मार्फत देशभरी गोवध प्रतिबन्ध लगाएसँगै यी दुवै किसिमका प्रतिरोध सुरु भएका थिए ।
मिखाइलका अनुसार नेपालको पश्चिमका मगरहरूले काठमाडौंको केन्द्रीय सत्तासँग रिस उठेको बेला गाई काट्ने गरेका थिए । यसरी गाई काट्नु हिन्दु राजाको मर्ममै प्रहार गर्नु थियो । त्यसपछि काठमाडौंले पनि गाई काट्नेहरूमाथि निर्मम दमन गर्ने गरेको उनले लेखेका छन् ।
त्यसयता पटक-पटक गोवधको आरोपमा मानिसहरू पक्राउ परेको, मृत्युदण्डको सजाय पाएको वा जेल परेको घटनाहरू हामी पाउँछौ, यो कहिल्यै रोकिएको छैन । यसको अर्थ नेपालका खास जनजाति र दलितहरूले निरन्तर गोवधसम्बन्धी शाही आदेश वा राज्यको कानुनको अवज्ञा गर्ने गरेका छन् । अहिलेसम्म पनि अवज्ञाको प्रतिरोध उनीहरूले जारी राखेका छन् । राज्यको दमन पनि जारी छ ।
२०५१ सालमा तत्कालीन श्रम तथा स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरको एउटा भाषणले राष्ट्रिय राजनीति र धार्मिक वातावरणमा तरङ्ग पैदा गरेको दिक्पालले आफ्नो किताबमा उल्लेख छन् ।
बाराको कलैयामा आयोजित राष्ट्रिय मानवअधिकार संगठनको साधारण सभामा बोल्दै तुलाधरले भनेका थिए, ‘हामी सबैले मानेको कुरा धार्मिक समानता हो, धार्मिक स्वतन्त्रता पनि हो । तर, फेरि पनि मुसलमानको कुरा जब आउँछ, फेरि पनि मंगोल जातिको कुरा जब आउँछ, उनीहरूले गाईको मासु खान पाउने कि नपाउने?’
उनको यही दुई वाक्यले ठूलो खैलाबैला निम्त्यायो । त्यसको दुई महिनापछि २०५२ बैशाखमा काशी हिन्दु विश्वविद्यालयबाट जनकपुर आएका सुदामा शास्त्री उर्फ भरत आचार्यले पद्मरत्नको टाउको काट्नेलाई ५० हजार रूपैयाँ इनाम दिने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट काठमाडौंमा आयोजित अर्को एक कार्यक्रममा योगी नहीनाथले पद्मरत्न र गाई प्रकरणमा आफ्नो मत राख्दै गाई काट्ने कुरा गर्नेका शरीरमा जति रौं छन् त्यति नै टुक्रा गरी काटिएमा अपराधले माफी पाउने बताएका थिए ।
यसै बेलातिर सुरु भएको माओवादी सशस्त्र युद्ध गोवधविरूद्धको शक्तिशाली प्रतिरोध हुन थाल्यो । उनीहरूले राजनीतिक रूपमा मात्रै गोवध फुकुवा गर्नुपर्ने माग नउठाएर व्यवहारिक रूपमा पनि गाईगोरूको मासु प्रयोगमा ल्याएका थिए ।
यससँगै कला र साहित्यमा पनि गोवधको विषय निरन्तर उठ्न थाल्यो । चर्चित कवि, लेखक तथा कलाकार उपेन्द्र सुब्बाको कथा संग्रह लाटो पहाडभित्र रहेको यही शीर्षकको कथाले यो विषय उठाएको छ । यसमा भीरबाट गाई लडेर मरे पनि जेल परेको कोक्मा ठूलेको कथा छ । यो कथामार्फत गाईगोरूको छालालाई लिम्बुसंस्कृतिको अभिन्न बाजा च्याब्रुङ बनाउन प्रयोग गरिने गरेको र अहिले गोवध प्रतिबन्धले त्यसमा समास्या भएको विषयमा पनि उनले मार्मिक रूपमा उठाएका छन् ।

सुवासकै ‘एसेज अन काउ’ र यसमा उनले समावेश गरेको मुक्तान थेवाको कविता ‘गाई, गोरू, बहर, बाछा, बाछी’ पनि प्रतिरोधको आवाज हो । यी प्रतिरोधको माझ गणतन्त्र नेपालमा गोवधको मुद्दा पटकपटक उठ्ने गरेको छ । अहिले गाईलाई राष्ट्रिय जनावर भएकाले मासु खानु हुँदैन पनि भन्ने गरिएको छ तर सत्तामा हिन्दु वर्चश्व भएकैले गाई राष्ट्रिय जनावर भएको तथ्य पनि बिर्सन हुँदैन ।
गोवध प्रतिबन्धका कारण सांस्कृतिक रूपमा गाईको मासु खाने समुदायमा रहेको असन्तुष्टि भूपाल राईको यो कवितामा पोखिएको छ ।
राष्ट्रिय जनावरको देशमा सूचीकृत छु राष्ट्रिय जनगणनाको एक आँकडा एक अराष्ट्रिय मान्छे अराष्ट्रिय बाजेको नाति अराष्ट्रिय बाबुको छोरा डामेर निधारभरि तीनपुस्ते अराष्ट्रियता खेपिरहेछु राष्ट्रिय जनावरको एक अराष्ट्रिय मुद्दा जहाँ केही राजकीय शब्दहरू छुट्टिएर शब्दको खोपीबाट बन्दछन् राष्ट्रिय गीत केही दैविक वाणीहरू खसेर ब्रम्हवाणीबाट बन्दछ मुलुकी ऐन र केही जनावरहरू निस्किएर धर्मसभाको चेपबाट गर्छन् मान्छेमाथि रजाइँ फहराउँदै एकसाथ गणतन्त्र दिवसको विजय पताका र मक्किँदै गरेको पुर्खाको भोटो खेपिरहेछु एक सय ६४ वर्ष पुरानो जंगबहादुरको अपराध संहिता राष्ट्रिय जनावरको देशमा यसरी खेपिरहेछु एक अराष्ट्रिय मुद्दा जहाँ सोधिएका छन् हमेसा एउटै प्रश्न- ‘किन भोगिरहेछस् यो संगीन अपराध जसलाई खुद संविधानले अराष्ट्रिय भनेको छ ? ’ उत्तरमा हमेसा मैले भनेको छ- ‘जोसँग मेरो खाद्य सप्रभुता जोडिएको छ’ फेरि प्रश्न- ‘तर यो राज्य अपराध हो तलाईं थाहा छैन ? ’ भनेँ- ‘राज्य कुन सिमानाबाट सुरु हुन्छ मलाई थाहा छैन’ प्रश्न-‘कैलेदेखि खा’ को होस् ? ’ भनेँ- ‘पाँचौं हजार वर्षदेखि’ फेरि प्रश्न- ‘कैलेदेखि खा’ को होस् ? ’ फेरि भनेँ-‘दसौं हजार वर्षदेखि’ अन्तिम प्रश्नपछि जब बाँधियो मेरा हात खुट्टा झुन्ड्याएर छातिमा राज्य द्रोहको बिल्ला जब खिचियो मेरो एक थान पूर्णकदा तस्वीर अचानक लाग्यो कि गणतन्त्रको यो प्रथम दशक जसको लागि खुद मैले पनि फटाएको हुँ साढे सत्ताइस जोर आयुको तलुवा मानौं ब्यूँतिरहेछन अझै पनि राजा महाराजाको अनेक संस्करणहरू त्यहाँ डुक्रिरहेछन् जंगबहादुरको सनातन गोठबाट नयाँनयाँ उत्पादन भएर धर्मयुद्धका नयाँनयाँ साँढेहरू जसले खोसेका छन् मात्र एक थान आधुनिक ‘हिन्दुस्थाना’को लागि हजारौं वर्ष पुरानो मेरो प्राकृतिक न्याय र, ठोकेका छन् मेरो थाप्लोमा पुस्तैनी दण्ड स्वरूप गोरुको बाध्यकारी मेक्चन* अराष्ट्रिय बाजेको नाति अराष्ट्रिय बाबुको छोरा बाध्य हुने छैन अब कुनै पनि प्रश्नको उत्तर दिनबाट म बरु एक अनन्तकालदेखि चढाए झैं प्रत्येक पटक पुर्खाहरूको नाममा फेरि चढाउनेछु सुप्तुलुङ** भरि गोरुको सायाचोक्मा*** र खोज्नेछु साढे सत्ताइस जोर आयुको तलुवामा फाटेको आफ्नै सम्प्रभुता राष्ट्रिय जनावरको देशमा ती तमाम जनावरहरूप्रति म उत्तिकै उदार बन्न सक्छु सिवाय एउटा खतरनाक शब्द जसको कारणले ‘अराष्ट्रिय’ भइरहन म अभिसप्त छु म त्यही शब्द खारेज गर्न चाहन्छु । । … *मेक्चन : गोरुको मासु खाएबापत किराँतीहरूले खेप्नुपर्ने दण्ड र कर । **सुप्तुतुलुङ : तीन चुल्हाको किराँती नाम । **सायाचोक्मा : किराँती राई भाषाअनुसार शिर उभ्याउने काम । |
Leave a Reply