‘हामी नेपाली केवल तोपका आहारा !’

‘हामी नेपाली केवल तोपका आहारा !’

रोहेज खतिवडा

अफगानिस्तानमा १२ नेपाली मारिएको घटना आलै छ। अफगान युद्धसँग नेपालको कुनै सरोकार वा पक्षधरता छैन। यो अमेरिका र अमेरिकाले नै हुर्काएको तालिवानबीचको युद्ध हो। अहिलेको पुस्तालाई १२ वर्षअघि इराकमा १२ नेपाली मारिएका घटना थाहा छ। इराक युद्ध पनि त्यहाँका धार्मिक अतिवादी र पश्चिमाबीचको युद्ध हो। 

वर्षौंअघि भारत र पाकिस्तानबीच कार्गिलमा भएको युद्धमा पनि नेपालीहरूले ज्यान गुमाए। यसअघि विश्वयुद्धमा नेपालीहरू मारिए। बेलायत र अर्जेन्टिनाबीचको युद्धमा नेपालीहरू मारिए। आखिर किन लड्नु पर्छ नेपालीहरूले अरूको युद्ध? अरूको युद्धमा किन मारिनुपर्छ नेपालीले?

उपन्यासकार दौलतविक्रम विष्टको उपन्यास ‘चपाइएका अनुहार’मा पटकपटक यो प्रश्न दोहोर्‍याउँछ उनको पात्र अनन्त। 

यो उपन्यास २०३० सालमा प्रकाशित भएको हो, दोस्रो विश्वयुद्ध भएको तीन दशक पछि। दोस्रोविश्वयुद्धपछि विश्वव्यापी शोक, संकट र निराशा छाएको थियो। यहि शोक, संकट र निराशाकै कारण पश्चिमा जगत्‌मा मानव जीवनको नयाँ मूल्य खोजि भइरहेको थियो। दर्शनको विविध आयाममा बहस भइरहेको थियो। त्यो प्रभाव कुनै न कुनै रूपमा नेपालसम्म आइपुगेकै थियो। विश्वयुद्धलाई त अन्य असंलग्न राष्ट्रका नागरिक भन्दा नेपाली जनताले नजिकबाटै बुझ्न पाए, किनभने विश्वयुद्धबाट फर्किएका वीर गोर्खालीले आफ्नो वीरताको कथा लय हालीहाली सुनाए। 

विश्वयुद्धकालीन् यहि परिवेशको युद्धसिर्जित निराशालाई आफ्नो उपन्यासको केन्द्रीय विषय बनाएका छन् विष्टले। सामाजिक उपन्यास लेखनमा रुचि राख्ने उनले यो उपन्यासमा फरक विषय र शैली पछ्याएका छन्। ‘मञ्जरी'(२०१६)बाट सुरु भएको उनको उपन्यास यात्राले ‘एक पालुवा अनेकौं याम'(२०२६)मा आइपुग्दा उचाइ प्राप्त गरेको थियो। ‘ज्योति ज्योति महाज्योति’का लागि उनले २०४५ सालमा मदन पुरस्कार पनि प्राप्त गरे। ‘भोक  र भित्ताहरू’ तथा ‘हिमाल र मान्छे’ पनि उनका ख्याती कमाएका उपन्यास हुन्। कथासंग्रह ‘आंशु त्यसैत्यसै छचल्किन्छ’का लागि उनले २०४८ सालमा साझा पुरस्कार प्राप्त गरेका थिए। सामाजिक यथार्थवादी लेखक भएपनि चपाइएका अनुहारमा उनी विसङ्गतिवादी अस्तित्ववादी लेखकका रुपमा देखिन्छन्। समालोचक राजेन्द्र सुवेदी यो उपन्यासलाई विसङ्गतिवादी लेखनको उच्चता मान्छन्। आफ्नो पुस्तक ‘नेपाली उपन्यास:परम्परा र प्रवृत्ति’मा उनले इन्द्रबहादुर राईको ‘आज रमिता छ’, पारिजातको ‘शिरिषको फूल’ ध्रुवचन्द्र गौतमको अन्त्यपछि र विश्वेश्वर प्रसाद कोइरालाको तीन घुम्ती हुँदै विष्टको ‘चपाइको अनुहार’मा आइपुग्दा नेपाली विसङ्गतिवादी उपन्यास परम्पराले उच्चता प्राप्त गरेको उल्लेख गरेका छन्। 

यो उपन्यासमा तीन मुख्य पात्र छन्, जर्मन सैनिक किमरिख्, जर्मन महिला वेरगीत र जर्मन विरुद्ध ब्रिटिसका तर्फबाट युद्धमा होमिएको गोर्खाली अनन्त। उनीहरूबीच हुने संवाद नै यो उपन्यासको मुल कथा हो। अझ अनन्तसँगको संवादमा किमरिखको निराशा झल्किन्छ। मनोवादमा अनन्त आफ्नै निराशा अभिव्यक्त गरिरहेको हुन्छ। वेरगीतको प्रयास छ, बिरामी किमरिखलाई स्वस्थ बनाउने। ऊ पनि निराश छे, उसलाई युद्धमाथि आस्था छैन। तै पनि आफ्नो निराशा पटकपटक लुकाएर स्वास्थ्यकर्मी हुनुको दायित्वमा दत्तचित्त भएर लागिरहन्छे। किमरिखको बारेमा कुरा गर्दै विश्वयुद्धले सिर्जना गरेको विश्वव्यापी निराशाबारे वेरगीत अनन्तलाई सुनाउँछे,‘यहाँको साथी पनि ह्यानरिकजस्तै रोगी हुनुहुँदो रहेछ।… उही आस्था र विश्वास हराइरहेको रोग अर्थात फ्रस्टेसन। आजभोलि विश्वभरी नै महामारीको रूपमा फैलिरहेको छ यो रोग।’

यी तीन पात्र छन् कुनै अफ्रिकी अनकन्टार जंगलमा। युद्धमोर्चामा असहाय भेटिएको शत्रुपक्षको सैनिक किमरिखको हत्या नगरी उसकै साथ लागेर अनन्त यहाँ आइपुगेको छ। एउटा खोलाको नजिकै सुरक्षित ठाउँमा कटेरो हालेर उनीहरू बसेका छन्। कहिलेसम्म यहाँ बस्ने भन्ने उनीहरूलाई नै थाहा छैन। उपन्यासको सुरुमा जर्मनविरुद्ध युद्धमा होमिएको ब्रिटिस-गोर्खा अनन्त र जर्मन सैनिक किमरिख मात्र यहाँ हुन्छन्। उनीहरूको जाने ठाउँ कहिँ छैन। यो जंगल र त्यसअघिको मरूभूमि पार गरेर जाने सामर्थ्य उनीहरूसँग छैन। उनीहरू नआउन पनि सक्ने हवाइजहाजको प्रतिक्षामा छन्। मानौं, जहाजमा नआएको खण्डमा  उनीहरू मृत्यु पर्खिरहेका हुन्।

अति सन्नाटापूर्ण परिवेशमा उपन्यास सुरु हुन्छ। यो निराशाको कहालीलाग्दो परिवेश र समय झेल्दै आएका पात्रहरूसँग विष्टको काव्यत्मक भाषाले पाठकलाई बाँध्दै लान्छ। आफ्ना अरू उपन्यासमा जस्तै यहाँ पनि विष्ट आफ्नो कवितात्मक प्रस्तुतिसहित नै आएका छन्। यो निराश र उत्साहिन परिवेशको चित्रण गर्दै अनन्त भन्छ, ‘आहा! यस्तो छरिएको अवस्थामा पनि म भित्र यो उज्वलता कस्तो! लाग्न थाल्छ – जंगलका सारा रुखपातसँग मेरो जन्मजन्मान्तरको परिचय भएझैं, लाग्न थाल्छ – मनको सुक्ष्म तार सनातनदेखि यो चकमन्नतासँग जोडिँदै आइरहेझैं।आहा! यो भावना कहिल्यै पनि नभत्किदिए! यो उज्यालोको ह्रास कहिल्यै पनि नभइदिए! तर कठै!  दिनमा उदाएको सुर्य मरिहाल्छ रातको रङ्ग झर्दानझर्दै।’ (पृष्ठ १०)

अधिकांश समय अनन्तको आत्मलाप र केही संवादमा उपन्यास अघि बढ्छ। सिंगो उपन्यासमा कथानकलाई नै प्रभाव पार्ने गरी तीनवटा मात्रै घटना हुन्छन्- वेरगीतको आगमन, उसको विवाह र मृत्यु। 

एउटा कहालीलाग्दो निराश परिवेशमा वेरगीतको आगमनले गति सिर्जना गर्न खोज्छ। गोहीको आक्रमणमा परेर उसको प्रेमी, पाइलट ह्यानरिकको मृत्यु हुन्छ। अनन्तले चलाएको गोली लागेर जहाज प्वाल पर्छ। त्यसैदिनदेखि वेरगीत उनीहरूसँग बस्न थाल्छे। युद्धले विक्षिप्त बनेको किमरिखको ज्वरोको उपचार गर्छे। किमरिलाई विक्षिप्त अवस्थाबाट बाहिर निकाल्न खोज्छे। 

किमरिखले विवाहको प्रस्ताव राख्छ, वेरगीतलाई। जहाज आएर उद्धार गर्ला भनी पर्खिँदापर्खिँदै उनीहरूको विवाह हुन्छ। विवाहको एकवर्षपछि उनीहरूको छोरो जन्मिन्छ। किमरिख र वेरगीतको सन्तना जन्मिएको भोलिपल्ट आकाशमा तीनवटा हवाइजहाज आइपुग्छन्। किमरिख र अनन्त ती हावइजहामा आफ्नो जीवन फर्किरहेको देख्छन्। आशाको उज्यालो देख्छन्। तर उनीहरूलाई उद्धार गर्नुको साटो ती हवाइजहाज त्यहाँ गोली बर्साउन थाल्छन्। उनीहरू दुई रुखको सहारामा अडेस लागेर जोगिन्छन् तर कटेरोमा रहेकी सुत्केरी वेरगीत र उसको नवजात शिशु मारिन्छन्। अनकन्टार जङ्गलमै भएपनि गति लिन खोजिरहेको किमरखर र अनन्तको जीवन फेरि उस्तै गतिहिन हुन्छ, फेरि उस्तै उजाड हुन्छ।

युद्ध र मानव जीवनको विसङ्गत अवस्था उपन्यासको केन्द्रीय विषय हो। तै पनि विष्टले त्यो युद्धमा नेपाली किन मारिइएका थिए भन्ने प्रश्न पटकपटक उठाएका छन्। अनन्त पटकपटक आफ्नो गाउँघर सम्झिरहन्छ। खेत र आमा सम्झिरहन्छ। आफूलाई मन परेकी युवती सम्झिन्छ र उसँग प्रेम गर्न छोडेर यो युद्धमा किन आएँ भनेर प्रश्न गरिरहन्छ। युवती प्रतिको आकर्षण भन्दा लाहुरको फौजी सानले उसलाई किन आकर्षित गर्‍यो भन्ने प्रश्नको जवाफ खोजिरहन्छ। तर कुनै प्रश्नको जवाफ ऊसँग छैन। 

यो उपन्यास छापिएको चार दशकपछि पनि  यो प्रश्न उत्तिकै ताजा छ, महत्वपूर्ण छ।  आजका अनन्तहरू अफ्रिका वा बर्माको जंगलमा छैनन्। फकल्याण्डको टापुमा छैनन्। जर्मन र जापानीहरूसँग लडिरहेका छैनन्। तर तिनै अनन्तहरू इराकमा छन्, काबुलमा छन्। अमेरिका र तालिबान, अमेरिका र आइएस, अमेरिका र अलकायदाको लडाईंमा उनीहरू मारिइरहेका छन्। बर्षौंअघि कार्गिलमा भारत र पाकिस्तानबीचको कार्गिल लडाईंमा नेपालीले यो नियती भोग्नु पर्यो। आखिर जीवनको अन्तिम क्षणमा त ती अनन्तहरू आफैंसँग प्रश्न गर्दा हुन्, ‘यो युद्ध मैदानमा म किन छु?’

वेरगीतसँग कुरा गर्दै अनन्त भन्छ,‘हामी पहाडी मान्छे फ्राऊ! हामीलाई फूलहरूप्रति अनुराग हुन्छ पो कहिले? हाम्रा आमाले त हामीलाई गर्भमा छँदैखेरी देखि नै तोपलाई सुम्पिदिइसकेका हुन्छन्। हामी बगैंचाका प्रेमी होइनौं, हामी केवल तोपका आहारा हौं फ्राउ! केवल तोपका आहारा!'(पृष्ठ ६४)

गोर्खालीहरू वीर हुन् भनेर बेलायतीहरूले मिथ सिर्जनाको गरेको ठान्छन् विष्ट। जुन मिथका कारण बाँकी विश्वले गोर्खालीलाई क्रुर लडाकुका रुपमा मात्र चिनेको छ। शत्रुपक्षमा त बेलायतले यस्तो मिथ प्रचार नै गरेको छ। आफू गोर्खाली भएको परिचय दिएपछि जर्मन महिला वेरगीतको प्रतिक्रियाबारे अनन्त भन्छ,’गोर्खालीहरूका बारेमा प्रथम महायुद्धदेखि उडेका दन्त्यकथाले सम्भवत त्यो स्वास्नीमान्छे पनि सन्त्रस्त छे। सम्भवत: मेरो अनुहारलाई एउटा मान्छे खाने राक्षसको रुपमा चित्रित गरेकी छे। के थाहा होस् विचरीलाई, उसको देशमा झैं मेरो देशको दन्त्यकथामा पनि राक्षसहरू छन् भन्ने कुरा!'(पृष्ठ४७)

बेलायतीहरूले गोर्खालीका बारेमा अनेक हल्ला चलाएका थिए। यस्तै हल्ला सुनेको किमरिख एकपटक अनन्तलाई सोध्छ,’के गोर्खालीको खुकुरीलाई दापबाट झिकेपछि त्यसलाई रगत नखुवाई हुँदैन रे हो?’

गोर्खालीका बारेमा अनेकौं मिथ विश्वमा आजसम्म पनि छन्। हामी आफैंले त्यसलाई हाम्रो पहिचानका रुपमा स्वीकार गरेका छौं। ‘वीर जाति’को यो पहिचानसँगै हाम्रो एउटा नियती पनि सिर्जना भएको छ,‘नेपालीहरू त जन्मनेबित्तिकै युद्धले मारिइसकेका हुन्छन्। अझ जन्मने बित्तिकै किन- आमाको गर्भभित्रै युद्धले मारिइसकेका हुन्छ।'(पृष्ठ १५)

‘चपाइएका अनुहार’बाट उपन्यासकार विष्ट र उनको पात्र अनन्तले उठाएका प्रश्न कहिलेसम्म नविकरण भइरहने हो?

(सन् २०१६, काठमाडौं)

No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *