यो बर्खायाम होइन
केहीबेरअघिसम्म टन्टलापुर घाम थियो
अहिले अचानक मुसलधारे पानी परिरहेको छ
युवतीको फोल्डिङ छाता हावाले उडाइदिएको छ
र, भिजिरहेको छ उसको गुलाबी कपडा
हातमा छाता बोकेको युवक
चिया पसलको आडमा ओत लागेको छ
र, तन्काइरहेको छ युवतीतिर आँखा
हामी बसेकै चिया पसलको आडमा
अनेकौं अपरिचित मान्छे ओत लागेका छन्
र, कुरा गरिरहेका छन् पानीको/मौसमको
कुरा त हामी पनि गरिरहेका छौं घण्टौंदेखि
तर हामीबीच संवाद हुन सकेको छैन।
आमान्नेसामुन्न बसेका छौं
भरिएका कप रित्तिँदै गइरहेका छन्
चुरोटको संख्या घटाइरहेका छौं
र पर्यावरणमा थपिरहेका छौं धूँवा
यसरी नै घण्टौं हामी बात मारिरहेका छौं
तर हामीबीच संवाद हुन सकेको छैन।
कुरा त हामी पनि गरिरहेका छौं
मार्क्सवाद, अक्टोबर क्रान्ति र चिनियाँ जनयुद्ध
फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम र जर्मन एकिकरण
चे ग्वेभारा, नेल्सन मण्डेला र गान्धी
बिपी कोइराला, कांग्रेस र समाजवादको रटान
मदन भण्डारी, एमाले र एनजिओ
प्रचण्ड, माओवादी र हिंसा
सामाजिक न्याय, समावेशिता र गणतन्त्र
फासीवाद, शोषण र आन्दोलन
तर हामीबीच संवाद हुन सकिरहेको छैन।
महोदय,
तपाईंसँग जवाफहरू छन्
मसँग प्रश्नहरू छन्
तर हामीबीच संवाद हुन सकेको छैन।
मैले प्रश्न गर्नुभन्दा अघि नै
तपाईंलाई मेरो प्रश्नको जवाफ थाहा भइसक्छ
कुन पार्टीले प्रश्न सोद्धैछ,
तपाईंको खल्तीमा जवाफ छ
कुन जातले प्रश्न सोद्धैछ,
तपाईंसँग पुर्खौंदेखि जवाफ छ
कुन धर्मले प्रश्न सोद्धैछ,
तपाईं रेडिमेड जवाफ छ
महोदय,
तपाईं मात्रै प्रश्न कुरिरहनु भएको छ।
माफ गर्नुहोला महोदय,
मलाई त तपाईंको त्यही पार्टीमाथि पनि प्रश्न गर्नु छ
मलाई त तपाईंको त्यही जातमाथि पनि प्रश्न गर्नु छ
मलाई त तपाईंको त्यही धर्ममाथि पनि प्रश्न गर्नु छ।
महोदय,
मलाई थाहा छ
तपाईं बफादार सैनिक हुनहुन्छ
र तर्कका हजारौं हतियार बोकेर
दृढतापूर्वक उभिइरहनु भएको छ
तर मेरो दिमाग जो छ
तपाईंको बफादारितामाथि नै प्रश्न गर्न चाहन्छ।
महोदय,
तपाईं हिजो जे हुनुहुन्थ्यो
आज पनि त्यही हुनुहुनुहुन्छ
यहाँ एकछिन अघि जे थियो,
त्यो केही पनि छैन
चर्को घाम थियो, त्यो छैन
अब त मुसलधारे पानी पनि छैन
ओत लाग्न बसेको भीड
भिजिरहेकी युवती
आँखा तन्काइरहेको युवक
केही पनि यहाँ छैनन्।
आजकल यहाँ शान्ति छ
सन्नाटा छ
हावामा निराशा बहिरहेको छ
बादलमा षडयन्त्रको कालोपन छ।
महोदय,
तपाईंले जवाफ दिइसक्नु भयो ?
के अब हामी संवाद सुरु गरौं ?
Leave a Reply